सहमतिपछि सडक विस्तारको काम सुचारु

नवलपुर । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको बुटवल-नारायणगढ सडक विस्तारको काम पुनः सञ्चालन भएको छ । मजदुर आन्दोलनका कारण १२ दिनदेखि ठप्प सडक विस्तारको काम निर्माण कम्पनीसँग सहमतिपछि मङ्गलबारबाट पुनः शुरु भएको हो ।

सडकखण्ड विस्तारका लागि काममा खटिएका मजदुरले तेल तथा माटो चोरी गरेर बिक्री गरेको आरोपमा दुवै पक्षबीच कुटपिट हुँदा मजदुरले काम ठप्प पारेका थिए । बुटवल- नारायणगढ सडक विस्तारको काम भइरहेको अवस्थामा खण्ड ‘क’ मा कार्यरत मजदुरले तेल तथा माटो चोरी गरेको भन्दै ठेकेदार पक्षले मजदुर निकालेको थियो । मजदुर निकालिएपछि देवचुली नगरपालिकास्थित रजहरमा रहेको ठेकेदार पक्षको साइट कार्यालयमा निर्माण पक्षले छलफलमा बोलाएर मजदुरलाई कुटपिट गरेको भन्दै मजदुर काममा गएका थिएनन् ।

कुटपिटको विषयमा दुवै पक्षबीच सहमति भएर मङ्गलबारबाट काम सञ्चालन भएको आयोजनाले जनाएको छ । ‘मजदुर र ठेकेदार दुवै पक्षबाट कुटपिट भएकाले अबदेखि कुटपिटमा नउत्रिने भन्‍ने सहमति भएको छ’, आयोजनाका सूचना अधिकारी कृष्ण आचार्यले भने, ‘निर्माणमा प्रयोग भएको सामग्री चोरीको विषयमा भने प्रहरीले अनुसन्धान गर्ने सहमति भएको छ ।’ कुटपिटको विषयमा दुवै पक्षले प्रहरीमा उजुरी गरेका थिए । उजुरीपछि दुवै पक्षलाई छलफलमा राखेर सहमति गरिएको अचार्यले बताए ।

‘दोहोरो कुटपिट भएको हुँदा दुवै पक्षका मानिस घाइते भएका थिए’, आचार्यले भने, ‘उनीहरुले आफूलाई सही र अर्को पक्षलाई गलत भन्दै आएका थिए तर सहमति गराएर काममा फर्काएका छौँ ।’ मजदुरलाई काम चाहिएको तथा ठेकेदार पक्षलाई आयोजनाको काम छिटो सम्पन्‍न गर्नुपर्ने अवस्था रहेका कारण पनि सहमति भएर सडक विस्तारको काम अगाडि बढेको आचार्यको भनाइ छ । आयोजनामा प्रयोग हुने सामग्री चोरी हुन नहुने भन्दै चोरी भएको विषयमा प्रहरीले अनुसन्धान अगाडि बढाएको आचार्यले बताए ।

‘चोरीको विषयमा प्रहरीले अनुसन्धान अगाडि बढाएको छ’, आचार्यले भने, ‘अनुसन्धानका क्रममा दोषी देखिएका व्यक्तिलाई कानूनअनुसार कारवाही गर्नसमेत सहमति भएको छ ।’ आयोजनाको खण्ड ‘क’ का विभिन्‍न स्थानमा करिब ४०० मजदुरले सडक विस्तारको काम गर्दै आएका थिए । सडक विस्तार आयोजनाको काम मजदुरले दोस्रोपटक बन्द गरेका हुन् । यसअघि तीन महिना पहिले पनि ठेकेदार कम्पनीले श्रम कानूनअनुसार व्यवहार नगरेको भन्दै मजदुरले हड्ताल गर्दा सडक विस्तारको काम प्रभावित बनेको थियो । यसअघि मजदुरको आन्दोलनका कारण रोकिएको काम एक हप्तापछि सम्झौता भएर पुनः अगाडि बढेको थियो । विभिन्‍न अवरोधका कारण सो सडक विस्तारको कामले गति लिनसकेको छैन ।

आयोजनाको काम शुरु भएको दुई वर्ष बितिसक्दा भौतिक प्रगति चार प्रतिशत मात्रै देखिएको बुटवल-नारायणगढ सडक आयोजनाका प्रमुख रमेशकुमार दिष्टीले बताए । आयोजनाको बाँकी रहेको ९६ प्रतिशत काम आगामी १८ महिनाभित्र सम्पन्‍न गर्न चुनौती भएको दिष्टीको भनाइ छ । कोभिडका कारण काम प्रभावित भएकाले केही महिना थप हुनसक्ने भए पनि निर्माण सम्पन्‍न गर्न त्यो समय पर्याप्त नहुने उनले बताए ।

तत्कालीन राजा महेन्द्रबाट विसं २०१९ वैशाख १ गते उद्घाटन भएको दुई लेनको पूर्वपश्चिम राजमार्गको यस सडक विस्तार गरेर चार लेनको बनाइँदैछ । विस्तारको काम ४२ महिनामा सक्नुपर्ने गरी प्रधानमन्त्री केपी शर्मा ओलीले विसं २०७५ चैत ८ गते सडक विस्तार आयोजनाको शिलान्यास गरेका थिए । बुटवल-नारायणगढ खण्डको ११५ किलोमिटर सडकमध्ये गैँडाकोट-दाउन्‍ने खण्डको ६५ किलोमिटर सडकलाई खण्ड ‘क’ र दाउन्‍नेबाट बुटवलसम्मको बाँकी सडकलाई खण्ड ‘ख’ मानेर ठेक्का सम्झौता गरिएको थियो । ग्लोबल टेण्डरमार्फत दुवै खण्डको निर्माणको जिम्मा चीनको निर्माण कम्पनी चाइना स्टेट इञ्जीनियरिङ कम्पनीले पाएको छ ।

बुटवल-नारायणगढ सडकखण्ड विस्तारको लागत रु १६ अर्ब ९९ करोड ५२ लाख छ । एशियाली विकास बैंक (एडिबी)को ८५ प्रतिशत ऋण सहयोगमा सडक विस्तारको काम अगाडि बढेको हो । सडक विस्तारपछि शहरी क्षेत्रमा चार लेनका अतिरिक्त छ/छ मिटरको सर्भिस लेनसमेत निर्माण हुनेछ भने दाउन्‍ने क्षेत्रमा तीन लेनमा सडक विस्तार गरिनेछ । रासस

प्रतिक्रिया