सर्वियाको उत्कृष्ट पुनरागमनमा पोर्चुगलसँग बराबरी

काठमाडौं । पोर्चुगलले विश्वकप फुटबलको युरोपियन छनोटमा सर्वियासँग बराबरी खेलेको छ । शनिबार राति भएको खेलमा पोर्चुगलले सर्वियाले २-२ गोलको बराबरी खेलेको हो ।

रेड स्टार रंगशालामा समूह ‘ए’ मा घरेलु टिम सर्वियाविरुद्ध सुरुवातमै २-० गोलको अग्रता बनाएपनि पोर्चुगलले जित निकाल्न सकेन । पोर्चुगलका लागि डियागो जोताले दुई गोल गरे । यता, सर्वियाका लागि एलेक्सजेन्डर मिट्रोभिच र फिलिप कोस्टिचले गोल गरे ।

खेलको ११ र ३६ औं मिनेटमा जोताले गोल गर्दै पोर्चुगललाई २-० गोलको अग्रता दिलाए । उनकै दुई गोलमा पोर्चुगलले पहिलो हाफसम्म २-० गोलको अग्रता बनाएको थियो । दोस्रो हाफमा सर्वियाले उत्कृष्ट प्रदर्शन गर्दै दुई गोल गरेपछि खेल २-२ गोलको बराबरीमा सकिएको हो । खेलको ४६ औं मिनेटमा एलेक्सजेन्डर र ६० औं मिनेटमा फिलिपले गोल गर्दै सर्वियालाई २-२ गोलको बराबरी दिलाए ।

पोर्चुगलले यसअघि अजरबैजानलाई १-० गोलअन्तरले पराजित गरेको थियो। यता, सर्वियाले आयरल्यान्डलाई ३-२ गोलअन्तरले पराजित गरेको थियो । त्यस्तै, समूह ‘इ’ को बेल्जियमले चेक रिपब्लिकसँग १-१ गोलको बराबरी खेलेको छ ।

रसियाले स्लोभेनियालाई २-१, क्रोसियाले साइप्रसलाई १-०, टर्कीले नर्वेलाई ३-० लक्जमवर्गले आयरल्यान्डलाई १-०, बेलारुसले इस्टोनियालाई ४-२, मोन्टेनेग्रोले जिब्राल्टारलाई ४-१, नेदरल्यान्ड्सले लात्भियालाई २-०, स्लोभाकिया र माल्टाले २-२ गोलको बराबरी खेलेका छन् ।

प्रतिक्रिया