देशमा शिक्षाको अवस्था राम्रो भएन : पूर्वराष्ट्रपति

काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले देशको अहिलेको शिक्षाको अवस्था राम्रो नभएको टिप्पणी गरेका छन् । शनिबार काठमाडौंमा आयोजित शैक्षिक अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्वराष्ट्रपति यादवले यस्तो टिप्पणी गरेका हुन् । ‘देशमा शिक्षाको स्थिति राम्रो भएन,’ पूर्वराष्ट्रपतिव यादवले भने, ‘केही ठाउँमा सन्तोषजनक भएपनि त्यो समान रुपमा छैन ।’

देशको अहिलेको शिक्षा राम्रो नभएको र पूर्वी मधेशको शिक्षा सबैभन्दा बढी खस्कँदो रहेको पूर्वराष्ट्रपति यादवले बताए । पहाडी क्षेत्र र पश्चिम मधेशमा शिक्षाको अवस्था केही मात्रामा राम्रो भएपनि पूर्वी मधेशका बारादेखि सप्तरीसम्मको क्षेत्रको शिक्षा अझ खस्कँदो अवस्थामा रहेको पूर्वराष्ट्रपति यादवले बताए ।

उनले राष्ट्र र समाज निर्माणका लागि शिक्षा नै महत्वपूर्ण हुने पनि बताए । समाज रुपान्तरणको जग नै शिक्षा भएको बताएका उनले भने– ‘शिक्षित जनशक्ति निर्माण गर्न सकेमात्रै देशको विकास हुन्छ । पछिल्लो समय नेपालमा धेरै परिवर्तन भएपनि शिक्षा, स्वास्थ्य र सम्पदा क्षेत्र एकदमै अस्तव्यस्त छ ।’

प्रतिक्रिया