पिकनिक गएका वडाध्यक्षको मृत्यु, ७ जना पक्राउ

काठमाडौं । कञ्चनपुरमा पिकनिक गएका एक वडाध्यक्षको मृत्यु भएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका–५ का वडाध्यक्ष मदनबहादुर चन्दको पिकनिक गएका बेला मृत्यु भएको नगरप्रमुख सुरेन्द्र विष्टले मकालु खबरलाई जानकारी दिए ।

विष्टकाअनुसार शुक्रबार वडा कार्यालयका कर्मचारी र जनप्रतिनिधिसहित ८ जनाको टोली वेदकोट नगरपालिका–६ मा पर्ने चुरेपानीमा पिकनिक गएका थिए । सोही क्रममा वडाध्यक्ष चन्दको मृत्यु भएको हो । ‘उहाँहरु हिजो पिकनिक जानुभएको रहेछ,’ विष्टले भनेका छन्, ‘तर, उहाँको खै कसरी मृत्यु भयो । बुझ्ने क्रम जारी छ । सोधपुछ चलिरहेको छ ।’

वडाध्यक्ष चन्दलाई खाना खाने बेलामा समस्या आएको नगरप्रमुख विष्टले बताए । उनले भनेका छन्, ‘त्यहाँ वडाअध्यक्षलाई मासु र रक्सी खाने बेला अचानक घाँटीमा समस्या आएको भन्ने छ । सँगै गएकाहरूले मासु घाँटीमा अड्केर समस्या आयो भनेका छन् ।’

चन्दको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई महाकाली अस्पताल पुर्याइएको थियो । तर, अस्पताल पुर्याउनसाथ मृत घोषणा गरिएको थियो ।

घटनापछि पिकनिक गएकाहरुलाई पक्राउ गरिएको छ । ‘पक्राउ गरिएको छ,’ विष्टले भनेका छन्, ‘खासगरी सोधपुछका लागि हो । अहिले घटनाबारे सुक्ष्म अध्ययन गर्ने काम भइरहेको छ ।’

प्रतिक्रिया