पत्रकार महासंघको चुनाव : प्रेस युनियनको नेतृत्वमा ११ संगठनको गठबन्धन

काठमाडौं । नेपाल पत्रकार महासंघको आसन्न चुनावमा ११ वटा संगठनबीच गठबन्धन हुने भएको छ । चुनावमा प्रेस युनियनको नेतृत्वमा प्रेस संगठन नेपाल, प्रेस चौतारी नेपालको एक समूह, प्रगतिशील पत्रकार संघ नेपाल, क्रान्तिकारी पत्रकार महासंघ, जनपत्रकार संगठन नेपाल, क्रान्तिकारी पत्रकार संगठन नेपाल, मिडिया नेपाल, प्रेस सेन्टर नेपाल, देशभक्त पत्रकार संघ र लोतान्त्रिक छापामाध्यम बिच सहमति भएको हो ।

यी संगठनहरूबीच चुनावमा कसले कुन पद लिने भन्ने तय गर्न छलफल भइरहेको संगठनका नेताहरुले जानकारी दिएका छन् ।

अहिलेसम्म अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष युनियनले, महासचिव प्रेस सेन्टरले, सचिव प्रेस चौतारीको एक पक्षले लिने मोटामोटी सहमति भएपनि बाँकी पदहरुको बाँडफाँड मिलाउन नयाँ बानेश्वरको एक होटलमा छलफल भइरहेको हो ।

प्रेस युनियन नेपाली कांग्रेसको शुभेच्छुक संस्था हो भने प्रेस संगठन माओवादी केन्द्र निकट पत्रकारहरुको संस्था हो । यस्तै एमाले निकट पत्रकारहरुको संगठन प्रेस चौतारीबाट माधव नेपाल पक्ष पनि यो समूहमा मिलेर चुनाव लड्ने भएको हो ।

पदको बाँडफाँड मोटामोटी मिलिसकेपनि कुन पदको उम्मेदवार को हुने भन्ने तय हुन बाँकी नै रहेको संगठनका नेताहरुले जानकारी दिए ।

संगठनहरुले पूर्ण प्रेस स्वतन्त्रताको रक्षा, श्रमजीवी पत्रकारको हकहित एवं मिडियाको विकास, प्रवर्द्धन तथा नागरिक अधिकार, लोकतन्त्रको पक्षमा नेपाल पत्रकार महासंघको गौरवपूर्ण ऐतिहासिक भूमिकालाई थप सबल र सुदृढ गर्न नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनलाई प्रतिगामी कदमविरुद्ध स्पष्ट सन्देश दिने गरी समझदारी गर्ने निर्णय गरिएको दाबी गरिएको छ ।

यस्तै आफूहरु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा निरन्तर खवरदारी गर्न प्रतिवद्ध रहेको पनि संगठनहरुले बताएका छन् ।

मिडिया काउन्सिल विधेयक, सार्वजनिक सेवा प्रशारण विधेयक, सामाजिक सञ्जाल निर्देशिका (अनलाइन) लगायतका प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी, नागरिक अधिकार कुण्ठित गर्ने किसिमका (संघ, प्रदेश र स्थानीय समेत) सरकारले अघि बढाएका विधेयकहरु फिर्ता गराउन थप संघर्ष गर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ ।

श्रमजिवी पत्रकारहरुको पेशागत र व्यावसायिक हक हितका पक्षमा निरन्तर खबरदारी गर्ने, कोरोना भाइरसको महामारीका कारण संकटमा परेका साना तथा ठूला मिडिया उद्योगको पुनरुत्थानका कार्य अघि बढाउने सरकारी सञ्चार माध्यमलाई एकलौटी ढंगमा प्रस्तुत गर्न र अन्य राजनीतिक दलका समाचारप्रति दुर्भावना राखी सम्प्रेषण गर्न बाध्य पारी त्यहाँ कार्यरत श्रमजीवि पत्रकारमाथि मनोवैज्ञानिक दबाब दिने कामप्रति आपत्ति जनाइएको छ ।

No description available.

प्रतिक्रिया