एमाले फुटतर्फ, नेताहरु भन्छन्– व्यक्तिगत इगोले यस्तो भयो

  • धनबल राई

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) फुटउन्मुख भएको छ । अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेताद्वय  झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले अहिले समानान्तर गतिविधिलाई बढवा दिएर पार्टीलाई फुटतर्फ धकेलिरहेका छन् । नेकपामै छुट्टाछुट्टै चुल्हाे–चौकाे गर्दै आएका दुवै पक्ष एमालेमा समानान्तर गतिविधिमै केन्द्रित छन् ।

सर्वोच्च अदातलले गत फागुन २३ गते नेकपाकाे नाम ऋषि कट्टेल नेतृत्वको दललाई दिने फैसला गर्दै तत्कालीन नेकपालाई पूर्ववत् अवस्थामै फर्काइदिएपछि एमालेकाे विवाद मत्थर हाेला कि भन्ने आशा यथार्थ बन्न सकेन ।

यसकै पछिल्लाे कडीका रुपमा शुक्रबार एमालेका आ–आफ्नै अवस्था र परिस्थितिअनुकूल बैठक आह्वान गरेका छन् । ओली नेतृत्वको एमालेले दिउँसो ३ बजे सरकारी निवास बालुवाटारमा संसदीय दलको बैठक आह्वान गरेको छ भने खनाल–नेपाल समूहले बिहान ११ बजे कलंकीस्थित मेघा पार्टी प्यालेसमा केन्द्रीय कमिटीको बैठक आह्वान गरेको छ । यी एउटै पार्टीभित्र देखिएका समानान्तर गतिविधिले पनि एमाले फुटको संघारमा पुगेको बुझ्न कठिन छैन ।

तर, नेताहरुले भने एमाले फुटतर्फ गइसकेको भन्न नमिल्ने दाबी गर्छन् । ‘अहिल्यै एमाले विभाजनतर्फ गएको भन्न मिल्दैन,’ एमाले प्रमुख सचेतक (ओली पक्ष) विशाल भट्टराईले मकालु खबरसँग भने, ‘बाहिरबाट त्यस्तो देखिएपनि वास्तवमा त्यो होइन । यो खाली व्यक्तिगत इगोको कारण यस्तो भएको हो ।’ समानान्तर गतिविधिले विभाजनतर्फ गइरहेको भन्ने त संकेत गर्छ नि भन्ने जिज्ञासामा सचेतक भट्टराईको जवाफ थियो– संकेत त स्वभाविक रुपमा गर्छ नै तर, फुटिनै हाल्छ भन्ने चाहिँ होइन ।’

दिउँसो ३ बजेको बैठकले सांसदको विकास बजेट, संसदको चालू अधिवेशनलगायतका विषयमा छलफल गर्ने बताएका सचेतक भट्टराईले थप भने– अन्ततः हामी मिलेरै जाने हो । हामी मिल्छौँ ।

यता खनाल–नेपाल समूहकी नेतृ अष्टलक्ष्मी शाक्य पार्टी एउटै हुनुपर्छ भन्ने सबैको मनसाय भएपनि त्यो हुन नसकेको बताउँछिन् । नेतृ शाक्यले मकालु खबरसँग भनिन्, ‘खै के भएको हो । हामी सबैको मनसाय एउटै भएपनि पार्टीलाई एउटा बनाउन सकिएन । सबैभन्दा यो चाहिँ व्यक्तिगत निर्णयकै कारण यस्तो भएको हो ।’

दुवै एमालेका नेताहरुको ‘बटमलाइन’ एउटै भएपनि तपाईँहरु किन मिल्न सक्नुहुन्न ? भन्ने जिज्ञासामा नेतृ शाक्यले भनिन्– यसमा त व्यक्तिगत कारण नै हो जस्तो लाग्छ । केपी कमरेडले एकलौटी ढंगले निर्णय गराउनुभयो । त्यो हामी नमान्ने पक्षमा भयौँ, त्यसो हुँदा मिल्न सकिएन ।’

यता ओली नेतृत्वको एमालले खनाल–नेपाल नेतृत्वका ४ नेतालाई तीन दिने स्पष्टीकरण सोधेको छ । जुन समयावधि शुक्रबार (आज) सकिँदैछ । यसअघि बिहीबार नै नेता नेपालले पार्टी अध्यक्ष ओलीलाई लिखित स्पष्टीकरणसँगै प्रतिप्रश्न  गरेका छन् । पार्टीलाई एकताबद्ध रूपमा राख्न ओलीले बेवास्ता गरेको नेपालको आरोप छ । उनले भनेका छन्, ‘पार्टीलाई एकताबद्ध रुपमा अगाडि बढाउन गरिएको आग्रहलाई किन अस्वीकार गर्नुभयो ?’

यसैबीच नेकपा हुँदादेखि नै पार्टी विभाजन राेक्ने भन्दै ‘एकता महाअभियान’ चलाइरहेका नेता बामदेव गाैतम पक्षले एमाले एक बनाउने अभियान चलिरहेकै बताएकाे छ । गौतमले प्रधानमन्त्री ओलीको अरूचीका कारण एमाले पुनः एक हुन नसकेको ठहर छ । ‘प्रधानमन्त्रीले रूची देखाउनुभएको छैन,’ नेता गौतमलाई उद्धृत गर्दै उनका प्रेस संयाेजक विश्वमणि सुवेदीले भने, ‘तर, प्रधानमन्त्रीसँग पनि लगातार कुराकानी चाहिँ भइरहेकै छ । हामी चाँडै हाम्रो लक्ष्यमा पुग्छौँ ।’

नेता गौतमले नेतृत्व तहमै नपुगेपनि दोस्रो तहका नेताहरुसँग लगातार छलफल गरिरहेको उनले बताए । त्यसमा कतिपय बैठकहरु सकारात्मक भएको सुवेदीले जानकारी दिए । ‘दोस्रो तहका नेताहरुसँग लगातार रुपमा छलफल भइरहेको छ,’ सुवेदीले भने, ‘त्यसमा कतिपय छलफलहरु सकारात्मक दिशातिर पनि गएका छन् ।’ खासमा प्रधानमन्त्रीले रूची देखाउनुहुन्छ भन्नेमा छौँ । यति चाहिँ दाबी गर्न सकिन्छ, एमाले एक हुन्छ ।

प्रतिक्रिया