एमालेमा दुर्घटना उन्मुख दौड !

काठमाडौँ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (एमाले)का दुई समूहले छुट्टाछुट्टै बैठक बोलाएका छन् । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा संसदीय दलको बैठक बोलाएका छन् भने झलनाथ खनाल र माधवकुमार नेपाल समूहले कलंकीमा केन्द्रीय कमिटी बैठक बोलाएको हो ।

खनाल-नेपाल समूहको बैठक बिहान ११ बजे कलंकीस्थित एक पार्टी प्यालेसमा बस्ने भएको हो । उक्त समूहका नेता योगेश भट्टराईका अनुसार बैठकले पार्टी विधानअनुसार पार्टीका बैठक बोलाउन अध्यक्ष ओलीलाई अनुरोध गर्ने निर्णय गर्नेछ । बैठकमा काठमाडौंमा उपलब्ध सदस्यहरुको उपस्थिति रहने उनले जानकारी दिए ।

यता प्रधानमन्त्री ओलीले बोलाएको संसदीय दलको बैठक दिउँसो ३ बजे बालुवाटारमा बस्दैछ । बैठकमा संसदको चालु अधिवेशन प्रभावकारी बनाउने, सांसदहरुको विकास बजेट खर्च लगायतका विषयमा छलफल हुने एमालेका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।

बैठकमा खनाल–नेपाल समूहका सांसद उपस्थित हुने/नहुने टुङ्गो छैन । यसअघि बिहीबार साँझ उत्त समूहका ४ जना नेताहरूले अध्यक्ष ओलीले मागेको स्पष्टिकरणको जवाफ दिएका थिए । सर्वोच्चले नेकपा एकता बदर गरी एमाले र माओवादी केन्द्र ब्यूँताएपछि एमालेभित्र विभाजनको रेखा कोरिन थालेको छ ।

दुबै समूह सहमति भन्दा पनि आरोप-प्रत्यारोपमा उत्रिँदा एमाले विभाजनतर्फ उन्मुख भइरहेको कतिपयको तर्क छ । तर दोस्रो पुस्ताका केही नेताहरुले एकता जोगाउन लचकता अपनाउन दुवै पक्षलाई आग्रह गरिरहेका छन् ।

प्रतिक्रिया