राष्ट्रपति भण्डारीसँग बंगलादेशी प्रधानमन्त्रीको भेटवार्ता

ढाका । बंगलादेशको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीसँग राजधानी ढाकास्थित होटेल कन्टिनेन्टलमा बंगलालादेशकी प्रधानमन्त्री शेख हसिनाले शिष्टाचार भेटवार्ता गरेकी छन् । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र बंगलादेशका लागि नेपाली राजदूत डा वंशीधर मिश्र, बंगलादेशका विदेशमन्त्री डा एके अब्दुल मोमेनसहित दुवै देशका उच्चस्तरीय प्रतिनिधी सहभागी भेटवार्ताका क्रममा दुई देशबीचको आपसी सम्बन्ध, पारस्परिक सहयोग र सहकार्यका विषयमा कुराकानी भएको छ ।

सोमबार नै विदेशमन्त्री डा मोमेनले राष्ट्रपति भण्डारीसँग अलग्गै शिष्टाचार भेटवार्ता गरेका थिए । बंगलादेशका राष्ट्रपिता शेख मुजिबुर रहमानको जन्मशताब्दीका अवसरमा आयोजित विशेष समारोहमा बंगलादेशी राष्ट्रपति मोहम्मद अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति भण्डारी सोमबार ढाका पुगेकी थिइन् ।

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को विशेष विमानबाट बंगलादेश पुगेकी राष्ट्रपति भण्डारीलाई बंगलादेशका राष्ट्रपति हमिदले ढाकास्थित हजरत सहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । राष्ट्रपति भण्डारीले आजै बंगलादेशका राष्ट्रपति हमिदसँग द्विपक्षीय भेटवार्ता गर्नेछिन् भने द्विपक्षीय सम्झौता समारोहमा सहभागी समेत हुने बताइएको छ ।

दुई देशबीच पर्यटन, कृषि र संस्कृतिका क्षेत्रमा आपसी सम्झौता हुने तयारी छ । राष्ट्रपतिको भ्रमण दलमा राष्ट्रपतिकी छोरी उषाकिरण भण्डारी, परराष्ट्रमन्त्री ज्ञवालीलगायत उच्च सरकारी अधिकारी सम्मिलित हुनेछन् । भ्रमण टोलीमा १९ कलाकर्मी र तीन सञ्चारकर्मीसहित ५४ जना सदस्य छन् ।

प्रतिक्रिया