‘लालुमै’को फरक शैली

  •  दिक्षा कट्टेल

काठमाडौँ । विदेसिनु नेपालीको साझा बाध्यता हो । यो बाध्यताभित्र पीडाहरू हुन्छन्‚ जुन पीडालाई खासगरी साहित्यमा प्रशस्तै मात्रामा लेखिन्छन् । यही विषयलाई उठाएर महर सुरजले गीत ‘लालुमै’ बनाएका छन् । मनोवादको स्वर‚ संगीत रहेको  गीतले परदेशीको पीडा र उनीहरूको यादमा घरमा रहेका परिवारको व्यथालाई व्यक्त गर्छ ।

मै त भएँ परदेशी धनको आशले
लालुमै कसरी हासौँला

यो सुरुवाती दुई पंक्तिले विदेसिएको पात्र बाध्यताभन्दा पनि धनको लोभमा विदेसिएको देखिन्छ । देशमा रहेर मेहनत गर्न मन नगर्ने तर विदेशमा पैसाको बोट नै छ ठान्ने प्रवृत्तिको शिकार धेरै नेपाली युवा भएका छन् । त्यसैले त,

छाडेर आएँ धानको बाला
ल्याउँछु भन्थेँ सुनको बाला
मेटाउँछु भन्दै हातको ठेला… भन्दै लेख्छन्, मनोवाद ।

अन्तसम्म आइपुग्दा …
मन त भयो मरुभूमि मायाको प्यासैले
लालुमै कसरी बाचूँला…
भन्नेसम्म पुगेर गीत सकिएको छ ।

विदेसिएका युवाको सामान्य कथा उठाएर बनाइएको भएपनि यो गीतको भिडियो भिन्न छ । प्रस्तुतिमा नाटक मञ्चनको शैली प्रवेश गराइएको छ । भिडियोमा प्रयोग गरिएको ‘डार्क/डिम’ प्रभावले कथालाई अन्य भिडियोभन्दा भिन्न बनाएको छ ।

श्रीमानसँग हुँदा कलाकार प्रमिला खनालको अनुहारमा देखिने खुसीदेखि गर्भावस्थामा भएको आलस्यता र त्यहीमाथि थपिएको मानसिक तनावलाई भिडियोमा देखाइएको छ । अन्ततिर आइपुग्दा सन्तानको खुसीमा थोरै मुस्कुराएको अनुहार सँगसँगै श्रीमानको यादमा जिउँदो लाश भएको मनलाई छपक्कै छोपेर सामान्य देखाइएको मुखाकृति सबै भूमिकामा न्याय गरेकी छन् उनले । सायद यही नै हो कलाकारको काम ।

आर्जेश रेग्मीले जेलमा सड्दै गर्दाको दुःखसमेत अनुहारको भावमार्फत् देखाएका छन् । विजय बरालको सुरुको केही सेकेन्डको अभिनय होस् या म्यानपावर सञ्चालकको भूमिका‚ दुवै अब्बल देखिन्छ । बुढी आमा र छोरीसँगै बसेर प्रमिलासमेतले गरेको अभिनय कति पनि अप्राकृतिक लाग्दैन ।

कस्तो हुन्छ त विदेशमा काम गर्न गएका तर जेल परेका व्यक्तिको परिवारको अवस्था यता नेपालमा ? गाउँपालिका कार्यालय, गाउँले र म्यानपावर सबैले गर्ने व्यवहार सानो सानो दृश्यमा देखाउँदै छर्लङ्ग पारिएको छ ।

मनोवादको स्वर, शब्द र सङ्गीतमा तयार यो गीत उत्कृष्ट गीतको सूचीमा पर्न लायक छ । प्रवीणको निर्देशकीय क्षमताले यो गीतलाई जीवित बनाएको छ । छायाङ्कनमा नवीन बाबु गुरुङ र शिशीलको क्यामेराको काम अब्बल छ ।

सम्भावनालाई नकारेर विदेश-विदेश भन्दै गर्दा आउन सक्ने सम्भावित परिस्थितिलाई समेत ध्यान दिनु जरुरी छ । अझै पनि सम्भावना छ भने देशमा नै केही गरे हुन्न र ? हेर्ने कथाका सेन्मिखाबाट पनि त सिक्न सकिन्छ, आफ्नो पाउलाई प्रेम गर्न ।

समग्रमा एउटा तरिकाले अघि बढिरहेको म्युजिक भिडियोको ट्रेन्डमा ‘लालुमै’ मार्फत् केही फरक प्रयास भएको छ, जुन प्रशंसा गर्न लायक छ ।

https://www.youtube.com/watch?v=yVqCzVRtoLo

प्रतिक्रिया