नेपाल बन्यो दक्षिण एसियाकै खुसी देश

काठमाडौँ । नेपाल खुसी हुने मुलुकको सूचीमा दक्षिण एसियामै अगाडि देखिएको छ । संयुक्त राष्ट्रसंघ सस्टनेबल डेभलपमेन्ट सोलुसन्स नेटवर्कले सार्वजनिक गरेको ‘वर्ल्ड ह्यापिनेस रिपोर्ट-२०२१’मा नेपाल दक्षिण एसियाका अन्य मुलुकभन्दा खुसी हुनेमा अघि देखिएको हो ।

विश्वका १४९ मुलुकमा गरिएको सर्वेक्षणमा नेपाल ८७ औं स्थानमा पुग्न सफल भएको हो । नेपालपछि माल्दिभ्स ८९, बंगलादेश १०१, पाकिस्तान १०५, श्रीलंका १२९ र भारत १३९ औं स्थानमा छन् । वर्ल्ड ह्यापिनेस रिपोर्ट सन् २०१२ देखि हरेक वर्ष सार्वजनिक गर्ने गरिएको छ ।

पहिलोमा फिनल्याण्ड
फिनल्याण्डका नागरिक विश्वकै सबैभन्दा धेरै खुसी रहेको पाइएको छ । खुसी नागरिकहरुको मुलुकको सूचीमा फिनल्याण्ड अहिले लगातार चौथो पटक सबैभन्दा अगाडि परेको हो ।

गत वर्ष विश्वभरी नै कोरोनाभाइरसको महामारी फैलिएपनि फिनल्याण्डका नागरिकको खुसीयाली तुलनात्मक रुपमा अगाडि नै रहेको छ । एक अर्काप्रतिको विश्वास र सरकारप्रतिको पूर्ण भरोसाका कारण आम नागरिकमा खुसीयाली देखिएको रिपोर्टमामा उल्लेख गरिएको छ ।

नागरिकलाई खुसी राख्ने देशहरुको सूचीमा डेनमार्क र स्विजरल्याण्ड तेस्रो र चौथो क्रममा रहेका छन् । सूचीमा रहेका अघिल्ला दश देश मध्ये न्युज ल्याण्ड बाहेक अरु सबै युरोपेली मुलुक रहेका छन् । न्युजल्याड नवौँ क्रममा रहेको छ । सूचीमा अमेरिका १४ औँ क्रममा रहेको छ भने बेलायत १८ औं नम्बरमा परेको छ ।

जर्मनीले भने पहिलाभन्दा धेरै सुधार गरेको देखिएको छ । यसअघि १७ औं नम्बरमा रहेको जर्मनी यस पटक ७औं नम्बरमा परेको छ । प्रतिव्यक्ति आय, सामाजिक सहयोगको स्तर, आकांक्षा, रोजगारीको सुनिश्चितता, भ्रष्टाचारको अवस्थालगायतका धेरै पक्षलाई आधार बनाएर नागरिकको खुसीयाली मापन गर्ने गरिएको अध्ययनकर्ताहरुले जनाएका छन् ।

प्रतिक्रिया