ओलीले बोलाए एमाले संसदीय दलको बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय दलको बैठक आह्वान गरेका छन् । ओलीले बिहीबार बिहान ११ बजेका लागि सरकारी निवास बालुवाटारमा बैठक आह्वान गरेको नेता विशाल भट्टराईले मकालु खबरलाई जानकारी दिए ।

ओलीले पछिल्लो समय विकसित राजनीतिक परिस्थितिबारे छलफल गर्नको लागि बैठक आह्वान गरेका हुन् । ‘खासगरी समसायिक विषयमा कुराकानी गर्नको लागि छलफल आह्वान गर्नुभएको हो,’ नेता भट्टराईले भने, ‘सूर्य चुनाव चिह्नबाट चुनाव जितेका सबैलाई संसदीय दलको बैठकमा आमन्त्रण गरिएको हो ।’ प्रधानमन्त्री ओलीले भट्टराईलाई साविक नेकपाको दलको हैसियतमा प्रमुख सचेतकको जिम्मेवारी दिएका थिए ।

यता विपक्षी एमालेको बुधबारबाट आफूपक्षीय राष्ट्रिय भेला शुरु भएको छ । प्रधानमन्त्री ओलीले उक्त भेलालाई गुटगत भेला भएको बताउँदै स्थगित गर्न आग्रहसमेत गरेका थिए । भेला स्थगित नगरिए पार्टी विधानबमोजिम कारबाही गर्ने चेतावनीसमेत दिएका ओलीले बिहीबारका लागि संसदीय दलको बैठक आह्वान गरेका हुन् ।

‘यहाँहरुको विरोधको बाबजूद पनि विपक्षी एमालेले आफ्नो भेला रोकेन, के अब कारबाही गर्नुहुन्छ ?’ भन्ने प्रश्नको जवाफमा अर्का नेता सुवासचन्द्र नेम्वाङ्गले मकालु खबरसँग भनेका छन्– उहाँहरुले रोकिदिनुभएको भए साह्रै राम्रो हुन्थ्यो । तर, रोक्नुभएन । योभन्दा अगाडि एकतर्फी कारबाहीमा त प्रधानमन्त्रीसँगै म पनि परेकै हो । अब अहिलेको अवस्थामा के हुन्छ हेर्दै जानुपर्ने भएको छ । यसबारे अहिल्यै धेरै प्रतिक्रिया दिन्नँ ।’

प्रतिक्रिया