जोशीको सचिवालयले भन्यो- भ्रमपूर्ण समाचार प्रवाह नगर्दिनुस्

काठमाडौँ । कांग्रेस नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको सचिवालयले भ्रमपूर्ण समाचार प्रवाह नगरिदिन आग्रह गरेको छ । नेता जोशीकै आधिकारिक फेसबुक पेजमा स्टाटस राख्दै सचिवालयले यस्तो आग्रह गरेको हो ।

जोशीको स्वास्थ्य सम्बन्धमा सामाजिक सञ्जाल र सञ्चारमाध्यममा आएका गलत सूचना/समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको उक्त स्टाटसमा भनिएको छ । निधनजस्तो अति संवदेनशील विषयमा अनुमानका भरमा सूचना सम्प्रेषण नगर्न सम्बन्धित सबैमा अनुरोध गरिएको हो ।

‘नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीज्यूको स्वास्थ्यलाई लिएर सामाजिक सञ्जालमा आएका समाचारहरुप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । उहाँको अहिले पनि थापाथलीस्थित नर्भिक अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेकाले भ्रमपूर्ण समाचारहरुमा कुनै सत्यता नरहेको प्रष्ट पार्न चाहन्छौँ,’ सचिवालयले भनेको छ, ‘कुनै पनि व्यक्तिको निधनजस्तो अति संवेदनशील विषयमा अनुमानको भरमा समाचार सम्प्रेषण नगरिदिनुहुन सरोकारवाला सबैमा अनुरोध गरिन्छ ।’

प्रतिक्रिया