माओवादी केन्द्रको बैठकमा प्रभु साहको फोन, नारायणकाजीले दिए पार्टीमा निम्तो

काठमाडौं । बुधबार पेरिसडाँडामा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक बसिरहेको छ । जुन, अहिले पनि जारी छ । बैठक शुरु भएको केही बेरपछि नेता नारायणकाजी श्रेष्ठलाई सरकारका शहरी विकासमन्त्री प्रभु साहले कल गरे ।

तत्पश्चात् दुई नेताबीच केही मिनेट कुराकानी भयो । कुराकानीको क्रममा श्रेष्ठले ‘तपाईँलाई पार्टीले खोजिरहेको छ’ भनेर भने पनि साहले ‘कुन पार्टीले ?’ भनेर जिज्ञासा राखे । साहलाई पार्टीमा फर्किन निम्तो दिएका श्रेष्ठले ‘तपाईँलाई पार्टीले पर्खिरहेको छ । तपाईँ आउनुस्’ भनेर दोहोर्याए ।

नेकपा राजनीतिक र व्यवहारिक रुपमा विभाजित हुँदा पनि साह केही समय विपक्षी नेकपा (दाहाल–नेपाल समूह) मै थिए । तर, पछि शहरी विकास मन्त्रालयको जिम्मेवारी पाउने पक्कापक्की भएपछि उनी सत्तापक्षीय नेकपमा लागेको बताइन्छ ।

माधवकुमार नेपालसँग पुष्पकमल दाहाल ‘प्रचण्ड’को ‘केमेस्ट्री’ मिलेपछि आफू ओली मसूहमा लागेको बताउने गरेका साह पछिल्लो पटक राजनीतिक संकटमा परेका छन् । योसँगै उनी पुनः माओवादीमै फर्किन्छन् भन्ने अनुमान गर्न थालिएको छ ।

गत २३ गते ऋषि कट्टेलको पक्षमा फैसला गर्दै सर्वोच्च अदालतले नेकपालाई पूर्वएमाले र पूर्वमाओवादीकै अवस्थामा फर्काइदिएको छ । योसँगै एमालेकरण भएका माओवादी केन्द्रका नेताहरु र माओवादीकरण भएका पूर्वएमाले नेताहरुलाई राजनीतिक संकट आइपरेको छ ।

प्रतिक्रिया