प्रचण्ड-नेपाल समूहको स्थायी कमिटीले लियो छुट्टिने निर्णय

काठमाडौँ । साविक नेकपा अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहले सर्वोच्च अदालतको फैसला अनुसार पूर्ववतः पार्टी एमाले र माओवादी केन्द्रमा नै रहेर एकता प्रयास गर्ने निर्णय गरेको छ । सोमबार कोटेश्वर पेरिसडाँडामा बसेको स्थायी कमिटीको अनौपचारिक बैठकले सो निर्णय गरेको हो ।

सर्वोच्च अदालतले आइतबार दिएको फैसला अनुसार अब प्रचण्ड-नेपाल समूह २०७५ जेठ २ गतेको अवस्थामा फर्किँदै छुट्टिने निर्णयमा पुगेको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए । ‘सर्वोच्चले दिएको फैसला अनुसार अब हामी माओवादी केन्द्र र नेकपा एमालेका रुपमा अघि बढेका छौँ,’ उनले भने, ‘अब एकताका लागि नयाँ ढंगले विकल्प खोज्छौँ । तर सर्वोच्च अदालतले राजनीतिक निर्णय लिएकाले त्यसको प्रतिवाद पनि गर्छौं ।’

सर्वोच्चको फैसलाले ऋषिराम कट्टेलको नेकपालाई वैधता दिएपछि केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेकपा खारेजीमा परेको थियो । यस्तो अवस्थामा पेरिस डाँडामा बसेको प्रचण्ड-नेपाल समूहको स्थायी कमिटी बिदाइ बैठकमा परिणत भएको हो ।

नेकपाको रुपमा भएको स्थायी कमिटीको यो बैठक नै अन्तिम भएको नेता श्रेष्ठले बताए । सर्वोच्चको फैसलापछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनैपर्ने बाध्यात्मक अवस्था आइसकेको श्रेष्ठको भनाइ छ ।

जहाँ रहे पनि वामपन्थी आन्दोलन एकीकृत बनाउनुपर्छ
नेकपाका नेता माधवकुमार नेपालले आफूहरु जहाँ रहे पनि बाम एकताको प्रयास जारी रहने प्रतिक्रिया दिएका छन् ।

पेरिसडाँडा बैठकपछि नेता नेपालले आफूहरुको हृदय विशाल भएकाले सबैलाई समेटेर अघि बढ्ने बताए । ‘प्रचण्डजीको र हाम्रो आजबाट पार्टी अलग भए पनि हाम्रो मन विशाल छ। हामी सबैलाई समेटेर अघि बढ्छौँ’, उनले भने, ‘फरक फरक पार्टीमा रहे पनि वाम एकतालाई जोगाउने प्रयासमा लाग्छौं । सबै वामपन्थी एक हुन्छौं ।’

उनले जहाँ रहे पनि वामपन्थी आन्दोलन एकीकृत र सशक्त बनाउनुपर्ने बताए । ‘अब एमाले एमालेतिरै र माओवादी माओवादी केन्द्रतिरै फर्किने परिस्थिति बन्यो,’ उनले भने, ‘एमालेकै नाममा पनि अर्को पार्टी दर्तामा छ । सबै कुराहरु हेरेर हामीले निर्णय गर्छौं ।’

प्रतिक्रिया