सह-प्राध्यापकमा बढुवा गराउनुपर्ने निर्णय मानेन सेवा आयोगले

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगञ्ज क्याम्पसको सह-प्राध्यापक बढुवासम्बन्धी विषयमा पुनरावेदन आयोगको निर्णय अस्वीकार गरिदिएको छ ।

सह-प्राध्यापकमा बढुवाको परीक्षा दिएकी डा. सामरिका दाहालको बढुवाका लागि न्यूनतम अंक नपुग्ने ठहर गर्दै सेवा आयोगले कसैको पनि नाम सिफारिस नगरेकोमा त्रिविको पुनरावेदन आयोगले त्यो निर्णय बदर गर्दै दाहाललाई बढुवा गर्नुपर्ने निर्णय गरेको थियो । तर सेवा आयोगले आफ्नो मूल्यांकनका आधारमा डा. दाहालले पेश गरेका कृतिहरूका आधारमा बढुवाका लागि आवश्यक अंक नपुग्ने भएकाले बढुवा गर्न नसक्ने जनाएको हो ।

डा. दाहाल त्रिविका रजिष्ट्रार प्रा. डा. पेशल दाहालकी छोरी हुन् । सेवा आयोगका विषय विज्ञले बढुवाका लागि उनले पेश गरेका कृतिहरूका आधारमा उत्तीर्ण हुने न्यूनतम अंक पनि नपुगेकाले बढुवा नहुने नतिजा सुनाएपछि आयोगले उत्तिर्णको सूचीमा कसैको पनि नाम सिफारिस गरेको थिएन । तर डा. दाहालले आफ्ना थप कृतिको पनि मूल्यांकन हुनुपर्ने दाबीसहित पुनरावेदन आयोगमा निवेदन दिएपछि पुनरावेदन आयोगले आफ्नो निर्णय सच्याएर उनलाई बढुवा गर्न सेवा आयोगलाई निर्देशन दिएको थियो ।

आयोगका अनुसार २०७६ साल जेठ २२ गते डेन्टल (ओरल प्याथोलोजी) विषयको सह-प्राध्यापकमा एकजनालाई आन्तरिक बढुवाका लागि विज्ञापन गरिएको थियो । कृतिको मूल्यांकनमा आवश्यक न्यूनतम अंक प्राप्त नभएपछि कसैको नाम पनि सिफारिस नगर्ने निर्णय गरिएको सेवा आयोगले जनाएको छ ।

तर उम्मेद्वार डा. सामरिका दाहालले आफुले पेश गरेका कृतिमा न्यूनतम अंक पुग्ने भएपनि बढुवाका लागि सिफारिस नगरिएको जिकिर गर्दै पुनरावेदन आयोगमा उजुरी गरेकी थिइन् । पुनरावेदन आयोगले सेवा आयोगलाई बढुवा नगर्ने निर्णय बदर गरी पुनः संशोधन सिफारिस सूची सेवा आयोगले प्रकाशित गर्नुपर्ने निर्णय गरेको थियो ।

तर पुनरावेदन आयोगको यो निर्णय कार्यान्वयन गर्ने क्रममा सेवा आयोगले कृतिको अंक दिने दुवै विशेषज्ञले डा. दाहालको मागअनुसारका कृतिहरूमा नम्बर दिन मिल्ने जति सबैको नम्बर दिइएको र उनले दाबी गरेका कृतिहरू अनुसन्धानात्मक नभई सामान्य केस रिपोर्टमात्र र शीर्षकसँग असान्दर्भिक भएकाले मूल्यांकन गरी अंक दिन नमिल्ने र निवेदकको दावीअनुसार भिन्न प्रकारमा गएर मूल्यांकन गर्न नमिल्ने ठहर गरेपछि पुनरावेदन आयोगको निर्णय कार्यान्वयन गर्न नसकेको जनाएको छ ।

No description available.

प्रतिक्रिया