विप्लव सार्वजनिक [तस्बिरहरु]

काठमाडौँ । दुई वर्षदेखि पूर्णतः भूमिगत राजनीति गरिरहेका नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सार्वजनिक भएका छन् । सरकारले प्रतिबन्ध फुकुवा गरेसँगै विप्लव सार्वजनिक भएका हुन् ।

उनी काठमाडाैं आउने क्रममा नवलपरासीमा सार्वजनिक भएका हुन् । उनी निकट श्राेतले मकालु खबरलाई उपलब्ध गराएका तस्विरहरुमा उनलाई अबिरले स्वागत गरिएको छ । सरकारले हेलिकप्टर पठाउने भने पनि चन्द गाडीबाट काठमाडौं आउन लागेका हुन् ।

काठमाडौं आएपछि विप्लवले प्रधानमन्त्री केपी शर्मा ओलीसँगै एउटै मञ्चबाट संयुक्त सम्बोधन गर्ने कार्यक्रम छ । आज (शुक्रबार) दिउँसाे २ बजे प्रज्ञा प्रतिष्ठानमा आयाेजित कार्यक्रममा प्रधानमन्त्री  ओली र विप्लवले संयुक्त संबाेधन गर्ने कार्यक्रम छ ।

 २०७५ फागुन २८ गतेबाट चन्द समूहको गतिविधिमा प्रतिबन्ध लगाएको सरकारले विहीबार प्रतिवन्ध फुकुवा गरेकाे हाे ।

प्रतिबन्ध फुकुवाको औपचारिक घोषणा आज प्रधानमन्त्री ओली र चन्द समूहका महासचिव नेत्रविक्रम चन्दको सहमतिपत्रमा हस्ताक्षर एवं संयुक्त सम्बोधनपछि गरिनेछ ।

प्रतिक्रिया