अविश्वास प्रस्ताव ल्याएर हटाए दुईतिहाइ बहुमत ल्याउँछु : प्रधानमन्त्री

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्‌मा आफूविरुद्ध अविश्वासको प्रस्ताव ल्याएर हटाएर देखाउन पुष्पकमल दाहाल– माधवकुमार नेपाल समूहलाई चुनाैती दिएका छन् ।

आइतबार झापाको कमलगाउँपालिका–७ झर्काहामा चीन-नेपालमैत्री औद्योगिक पार्कको शिलान्यासपछिको कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूलाई हटाउने दाउमा दाहाल-नेपाल मरिमेटेर लागिपरे पनि कसैगरी अविश्वासको प्रस्ताव ल्याएर सरकार ढाल्न नसक्ने उनले दाबी गरे ।

प्रधानमन्त्री ‌‌‌ओलीले अदालतले संसद् पुन:स्थापना गरेपछि सरकार ढलिहाल्छ भन्ने सोचेकाहरूलाई त्यस्तो नहुने बताए । उनले कुनै पनि हालतमा आफू नेतृत्वको सरकार ढल्न सम्भव नभएकाे समेत बताए ।

‘सरकार कुनै पनि हालतमा ढल्दैन । संसद्‌मा दाहाल–नेपाललाई बहुमतले अविश्वासको पारित गरेर देखाउन चुनाैती दिन्छु,’ प्रधानमन्त्री ओलीले भने ।

‘केपी ओलीलाई हटाएर देखाउनुस् न,’ उनले भने, ‘अविश्वास प्रस्ताव राख्नुस् । पास गर्नुस् । पहिले पनि अविश्वास प्रस्ताव राखेर हटाएको हो, म जनताबाट फेरि फर्केर आएको हो। अहिले पनि हटाउन सक्नुभएछ भने तीन करोड जनताबाट दुई तिहाइ लिएर आइन्छ।’

प्रतिक्रिया