दाहाल–नेपालले आफ्नै मात्रै सांसद पद बहाली भएजस्तो गर्नुभयो [भिडिओसहित]

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारका ऊर्जामन्त्री टोपबहादुर रायमाझीले आफूहरुले प्रतिनिधि सभा विघटनमाथि सर्वोच्च अदालतले गरेको निर्णय (फैसला)लाई सहर्ष रुपमा स्वीकारेको बताएका छन् । आफूहरुले स्वीकारेको भएपनि मुलुकको लागि भने त्यति उत्तम नभएको मन्त्री रायमाझीको तर्क छ ।

शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै पूर्वमाओवादी नेता रायमाझीले भनेका छन्, ‘हामीले सर्वोच्चको फैसलालाई सहर्ष स्वीकार्दै गर्दा सयौं असहमति पनि छन् । हामी यो फैसलालाई स्वीकार्छौँ ।’

यसैबीच मन्त्री रायमाझीले संसद् पुनर्बहाली हुँदा त्यति धेरै खुशी हुनुको औचित्य नरहेको बताए । पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालप्रति इङ्गित गर्दै मन्त्री रायमाझीले भनेका छन्, ‘केही साथीहरुले अविरजात्रा गर्दै हुनुहुन्छ । लड्डु खाइरहनुभएको छ । मानौँ कि, उनीहरु आफ्नै मात्रै सांसद पद बहाली भयो सोच्दै हुनुहुन्छ ।’

संसद् पुनःस्थापना हुँदा देखिने समस्याहरुप्रति पनि उत्तिकै जानकार हुनुपर्ने बताउँदै मन्त्री रायमाझीले सांसद किनबेचको काम शुरु भइसकेको बताएका छन् । ‘हामी संसद् पुनःस्थापनापछि देखिने समस्याहरुप्रति कति जानकार छौँ ? के हामीले त्यतातर्फ ध्यान दियौँ ?,’ रायमाझीले प्रश्न गरेका छन् ।

यस्तै मन्त्री रायमाझीले आफ्नो दलकै प्रधानमन्त्री हुँदाहुँदै अमुक पार्टीभित्रबाट प्रधानमन्त्री वा दलको नेता खोज्नु राम्रो नभएको बताए । ‘संस्थापन पक्षकै प्रधानन्त्री हुँदाहुँदै अन्य दलबाट प्रधानमन्त्री वा दलको नेता खोज्नु दुखद् हो,’ मन्त्री रायमाझीले भनेका छन् ।

प्रतिक्रिया