मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

विराटनगर महानगरपालिकामा कर्मचारी नियुक्तिमा बेथिति

प्रकृया पूरा नगरी एक महिनामा ८ जना नियुक्त

  • सुमन सुस्केरा

विराटनगर । विराटनगर महानगरपालिकामा कर्मचारी नियुक्तिको विषय विवादित बन्न थालेको छ ।

महानगरपालिकाको बोर्ड बैठकबाट पास नै नभई मेयर भीम पराजुलीले एक्लो निर्णयबाट पैसा बाँडेको तथा कर्मचारी नियुक्ति गरेको विषयमा बोर्डमा फेरि विवाद शुरु भएको हो । यसअघि पनि पटकपटक विवाद हुने गरेको विराटनगर महानगरपालिकाको बोर्ड बैठकमा मेयर र उपमेयरका बीचमा चर्काचर्की परेको बैठकमा सहभागी एक सदस्यले मकालु खबरलाई जानकारी दिए ।

उनका अनुसार बैठकमा कर्मचारीको नियुक्तिको विषय प्रवेश भएसँगै मेयर र उपमेयरबीच चर्काचर्की भएको हो ।

ती सदस्यका अनुसार, सबैले कुरा राख्दै जाँदा कुरा राख्ने क्रममा उपप्रमुख ईन्दिरा कार्कीले मेयर पराजुलीलाई सोधिन्, ‘तपाईले एक महिनामा ८ जना कर्मचारी कसरी र केको आधारमा नियुक्त गर्नुभयो ?’ उपमेयरको प्रश्न सुन्नासाथ मेयर पराजुलीले जंगिँदै यो आफ्नो अधिकार क्षेत्रभित्रको कुरा भएको बताएको ती सदस्यले बताए । ‘यो मेरो अधिकारको कुरा हो, मैले जति पनि कर्मचारी भर्ना गर्न पाउँछु’, मेयर पराजुलीले भने, ‘मैले स्थानीय सरकार संचालन ऐनले दिएको अधिकार प्रयोग गरेको हुँ ।’

लगत्तै उपमेयर कार्कीले ऐनको कुुन दफामा कर्मचारी प्रमुखको मात्र तजबिजमा कर्मचारी भर्ना गर्न पाउने व्यवस्था छ भन्ने प्रश्न गरी प्रशासनका कर्मचारी केबल पोखरेललाई स्थानीय सरकार संचालन ऐन ल्याउन लगाएपछि मेयर पराजुली हच्किएरको ती सदस्यले बताए ।

उपमेयर कार्की एकमहिना बिदामा बसेर फर्किएपछि पहिलोपटक बैठकमा सहभागी भएकी थिइन् । आफू बिदामा बसेको एक महिनामा मात्रै मेयर पराजुलीले ८ जना कर्मचारी नियुक्त गरेको उपमेयर कार्कीले बताइन् ।
कर्मचारी नियुक्ति धेरै भएपछि यसअघिको बैठक वडा अध्यक्षहरुले बहिस्कार गरेका थिए ।

मनलाग्दो नियुक्ति
विराटनगर महानगरपालिकाले २०७७ मंसिर २८ गतेसम्म खुला विज्ञापनबाहेक अन्य प्रकृया भन्दै ९४ जना करारका कर्मचारी नियुक्त गरेको छ । जसमा नर्सिङ अधिकृतदेखि कार्यालय सहयोगीसम्म छन् । प्रक्रिया नै नपुर्‍याई नर्सिङ अधिकृत १ जना, कम्युटर अधिकृत १ जना, पाँचौँ तहमा ६ जना, चौथो तहका ७ जना पहिलो तहको ७ जनासहित अन्य श्रेणीविहीन कर्मचारीहरु हेल्पर, चौकीदार, कार्यालय सहयोगी रहेका छन् ।

अन्य प्रकृयाबाट नियुक्त भएका भनिएकाहरुमा ४८ जना नगरपालिकाको निर्णय, महानगरपालिकाको छैठौँ नगरसभाबाट निर्णय गरेर २२ जना, कार्यपालिकाको बोर्ड बैठकबाट निर्णय गरेर २१ जना र संघीय सरकारको दरबन्दीअनुसार भनेर ३ जना रहेको बिराटनगर महानगरपालिकाका सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलियाले जानकारी दिए ।

महानगरपालिकाले नगर कार्यपालिकाको कार्यालयको दरबन्दी चार्ट सिटअनुसार कर्मचारी नभएको अवस्थामा नगरको कामकाजलाई सहज बनाउन रिक्त पदहरुमा संघीय, प्रदेश सरकारबाट व्यवस्थापन नहुँदसम्मका लागि नगरसभा, कार्यपालिका र कार्यालयको निर्णयबमोजिम विभिन्न प्राविधिक पद र श्रेणीविहीनतर्फ कार्यालय सहयोगी, वारुणयन्त्र, सिपाही, माली, कुचिकार, बिद्युत हेल्पर, सवारी चालक र चौकीदार लगायतको पदहरुमा ८७ जना सेवा करारमा लिइएको महानगरपालिकाले जनाएको छ ।

मेयर पराजुलीको निजी सचिवालयमा पनि स्वकीय सचिव, संचार संयोजक र जनसम्पर्क अधिकृत एक एकजना सेवा परामर्शबाट पारिश्रमिक उपलब्ध गराउने गरी करारमा लिइएको छ । ‘महानगरपालिका

‘नगरकार्यपालिकाको कार्यालयमा २०७४ साल असार १४ गतेपछि हालसम्म डोर हाजिर, ज्यालादारीको हकमा अत्यावश्यक कामको प्रयोजनका लागि दैनिक पारिश्रमिक उपलब्ध गराउनेगरी क्षणिक समयका लागि कर्मचारी राख्ने गरिएको छ,’ महानगरपालिकाले उपलब्ध गराएको सूचनामा भनिएको छ, ‘स्थानीय तहको अधिकारलाई सुनिश्चित गर्न कार्यालयको नियमित कामकाजलाई कार्यान्वायन गर्ने पाटोलाई मध्यनगर गरी संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारबाट स्वीकृत दरबन्दीबमोजिम कर्मचारी व्यवस्थापन नभएएकोले सेवा करामा लिइएको हो ।’

स्वकीयलाई अन्यत्र नियुक्ति
महानगरपालिकामा स्वकीयको रुपमा नियुक्त भएकाहरुलाई अन्यत्र नियुक्ति दिने र नयाँ स्वकीय ल्याउने काम पनि विराटनगर महानगरपालिकाभित्र भएको पाइएको छ । प्रमुख‚ उपप्रमुखले पद बहाली गरेपछि उनीहरुको निजी सचिवालयमा सुरुमा यज्ञराज गिरी (त्रिभुषण)लाई नियुक्त गरेकोमा उनलाई हाल कम्युटर अधिकृतमा नियुक्त दिइएको छ ।

उनलाई कम्युटर अधिकृतमा नियुक्ति दिएसँगै उनको ठाउँमा २०७७ साउन १ गतेदेखि लोकेन्द्रप्रसाद तिम्सिनालाई स्वकीय सचिवमा नियुक्त गरिएको छ । त्यस्तै उपप्रमुखको सचिवालयमा कुशल बस्नेत कार्यरत रहेकोमा उनको ठाउँमा सुमन श्रेष्ठ (रजक) नियुक्त भएका छन् ।

कुशल बस्नेतलाई तथ्यांक सहायक पाँचौँमा नियुक्ति दिइएको छ । मेयरले आफू निर्वाचित भएर आएपछि ४८ जना नियुक्त गरेको देखिन्छ । जसलाई नगरपालिकाको निर्णयबमोजिम भनिएको छ । यसबाहेक पनि कानुन विज्ञसहित अन्य ८ जना थप नियुक्त गरेको आरोप कार्यपालिकाको बोर्ड बैठकमा उठ्दै आएको छ । यस्तै, प्रकृया पुर्याएर खुल्ला प्रतिस्पर्धाबाट भने ५५ जनाको करार सेवामा नियुक्त गरिएको छ ।

मेयर भन्छन् मैले गलत गरेको छैन
विराटनगर महानरपालिकाका मेयर भीम पराजुलीले कर्मचारी नियुक्तिमा भने आफ्नो ठाडो हस्तक्षेप नभएको दाबी गरे । तर उनले कर्मचारी नियुक्त गरेको भने स्वीकार गरेका छन् । टिप्पणीको आधारमा प्रमुख प्रशासकीय अधिकृतले दरबन्दी भए नभएको बारेमा निर्णय गरेर मात्र कर्मचारी नियुक्ति हुने भएकोले त्यसमा मेयरले ठाडो हस्तक्षप नगरेको उनले मकालु खबरलाई बताए । उनले पहिलाका सरसफाई कर्मचारीलाई करारमा ल्याइएको दाबी पनि गरे ।

प्रतिकृयाहरु
Loading...
Makalukhabar.com