बामदेवले प्रचण्डलाई भने- पार्टी एक बनाएर लैजाऊँ

काठमाडौं । नेकपाका नेता वामदेव गौतमले पार्टी एकताकाे विषयमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् ।

प्रचण्ड–नेपाल समूह र प्रधानमन्त्री केपी शर्मा ओली समूह पार्टी फुटाउन अग्रसर देखिएका बेला नेकपा एकता अभियानमा जुटेका नेता गौतमले पार्टी एकताको प्रयासस्वरुप खुमलटार पुगेर प्रचण्डसँग भेटवार्ता गरेका हुन् ।

भेटका क्रममा नेता गाैतमले अब पार्टी फुटाएर हाेइन एक बनाएर अघि लैजाने प्रस्ताव प्रचण्डसँग राखेकाे गाैतमका प्रेस सल्लाहकार विश्वमणी सुवेदीले मकालु खबरलाई जानकारी दिए । पार्टी कसरि एक बनाउने भन्ने कुनै खाकाका बारेमा छलफल नभएपनि पार्टी फुटाउन नहुने र एक भएर अघि बढ्नुपर्ने प्रस्ताव गाैतमले राखेकाे सुवेदीले बताए ।

संसद पुनःस्थापना गर्ने सर्वाेच्चकाे फैसलापछि नेता गाैतमले प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले पदबाट राजीनामा दिनुपर्ने र  प्रचण्ड र ओलीले तुरुन्तै सचिवालय बैठक बाेलाउन अनुरोध समेत गरेका थिए ।

यसअघि एक अन्तवार्ताका क्रममा वामदेवले दुवै अध्यक्षले पार्टी एकताकाे पहल गर्नुपर्ने बताएका थिए । सर्वाेच्च अदालतकाे फैसला समेत आइसकेको अवस्थामा अब दुवै अध्यक्षले नेकपा जाेड्ने कामकाे थालनी गर्नुपर्ने उनकाे तर्क थियाे । यद्यपी दुवै पक्षबाट याे नभइरहेकाे अवस्थामा पार्टी एकता राष्ट्रिय अभियानमार्फत् नै एकताकाे पहल गर्ने उनले बताएका थिए ।

प्रतिक्रिया