काठ प्रहार गरी छाेराले गरे बुवाकाे हत्या

कास्की । काठ प्रहार गरी एक युवकले आफ्नै बुवाको हत्या गरेका छन् । ५८ वर्षीय जुम बहादुर कामीको हत्या गरेको अभियोगमा प्रहरीले साेमबार छाेरालाई पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा अन्नपूर्ण गाउँपालिका-३ पाउँदुरकोट घर भई हाल पोखरा महानगरपालिका-३२ महकुना बस्ने ३४ वर्षीय रामकृष्ण कामी रहेका छन् ।

घरको भर्‍याङबाट लडेर जुम बहादुरको मृत्यु भएको खबरपश्चात घटनास्थल पुगेकाे जिल्ला प्रहरी कार्यालय कास्की र ईलाका प्रहरी कार्यालय शिसुवा मुकाम डाँडाकोनाकबाट खटिएको प्रहरीले घटना शंकास्पद देखिएपछि अनुसन्धान गरेकाे थियाे । अनुसन्धानका क्रममा आइतबार राति बाबु छोराबीच विवाद भएपछि रामकृष्णले काठले प्रहार गर्दा बाबु जुम बहादुरको मृत्यु भएको खुल्न आएको हो ।

घटनास्थलबाट रगत जस्तो रातो पदार्थ लागेको ढोका लगाउन प्रयोग हुने चारपाटे काठ प्रहरीले बरामद गरेको छ । उनलाई कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत कास्कीबाट १० दिन म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

प्रतिक्रिया