राष्ट्रपति हटाउनेबारे सोचेका छैनौं : प्रचण्ड

काठमाडौँ । विभाजित नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपतिलाई हटाउनेबारे आफूहरूले नसोचेको बताएका छन् । मंगलबार साँझ बीबीसीसँग कुरा गर्दै प्रचण्डले राष्ट्रपतिलाई हटाउनेबारे आफूहरूले नसोचेको बताएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिलाई ‘ब्ल्याकमेल’ गर्ने कोसिस गरेपनि आफूहरुले कहिल्यै त्यसो नगरेको उनको तर्क छ । ‘राष्ट्रपति हटाउनेबारे सोचकै छैनौं । राष्ट्रपतिलाई ब्ल्याकमेल गर्ने कोसिस केपी ओलीले गर्नुभएको हो,’ प्रचण्डले भने, ‘हामीले कहिल्यै त्यसो गरेका छैनौं । हामी राष्ट्रपति हटाउनेतिर लाग्दैनौं ।’

उनले केपी ओलीलाई अध्यक्ष मानेर जाने सम्भावना नरहेको बताउँदै दलहरूसँग समझदारी गरेर अगाडिको बाटो तय गर्ने बताए । ‘ओलीले विघटनकारी काम गर्दै घात गरेका हुनाले उहाँसँगको सहकार्य अब सम्भव छैन,’ प्रचण्डले भने, ‘अन्य राजनीतिक पार्टीहरूसँग वार्ता गरेर जसरी देशको हित हुन्छ । सहमति बन्छ हामी त्यसरी नै अगाडि बढ्छौं ।’

अब राष्ट्रिय सहमतिमार्फत प्रधानमन्त्रीको उम्मेदवार बनाउनेतर्फ राजनीति केन्द्रित हुने संकेत उनको छ । ‘प्रधानमन्त्री मेरो प्राथामिकतामा छैन । हाम्रो आन्दोलन प्रधानमन्त्रीका निम्ति थिएन । राष्ट्रिय सहमतिमार्फत प्रधानमन्त्रीको उम्मेदवार छनोट गर्नेमा लाग्नेछौँ,’ उनले भने ।

प्रतिक्रिया