संसद पुनःस्थापनाको फैसला जनता र संविधानको जीत : सभामुख सापकोटा [भिडियोसहित]

प्रतिनिधिसभाका सभामुख अग्नि प्रसाद सापकोटाले जनताको र संविधानवादको जीत भएको प्रतिक्रिया दिएका छन् ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयलाई बदर गरेलगत्तै सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा प्रतिक्रिया दिँदै उनले सर्वोच्चको फैसलाले संविधानवादको जीत भएको बताएका हुन् ।


उनले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयलाई बदर गर्ने सर्वोच्चको फैसलाले राज्यका महत्वपूर्ण अंगहरुको शक्ति पृथकीकरण र भूमिकाको बारेमा पनि स्पष्ट मार्गनिर्देश गरेको बताए ।

उनले भने‚ ‘सर्वोच्चको आजको फैसलाले समस्त नेपाली जनताको जीत भएको छ । संविधानवादको जीत भएको छ र नेपाली जनतामा अदालतप्रतिको विश्वास थियो त्यो विश्वासले अर्को कोणात्मकता हासिल गरेको छ । समग्रमा भन्नुपर्दा यसले एउटा नयाँ आयाम खडा भएको छ‚’ उनले पत्रकारसँग बोल्दै भने‚ ‘यसले लोकतन्त्रको विकास विस्तार र सुदृढीकरणमा पनि महत्वपूर्ण भूमिका खेलेको छ । फैसलाको प्रारम्भिक अध्ययन गर्दा राज्यका महत्वपूर्ण अंगहरुको शक्ति पृथकीकरण र भूमिकाको बारेमा स्पष्ट मार्ग निर्देश गरेको छ ।’

पुस ५ गतेदेखि आजको दिनसम्म बहसको बीचबाट यसले संविधानको रक्षामात्रै नभई विकास र सम्मृद्धि गर्नुको साथै कार्यान्वयन गर्नका लागि निकै राम्रो आधार खडा गरेको सभामुख सापकोटाले बताए।

‘सभामुखको हैसियतले म के भन्न चाहन्छु भने मैले सपथ लिएकै दिन संसदलाई जीवन्त र जनमुखी बनाउने भनेर संकल्प गरेको थिएँ । त्यो संकल्प पुरा गर्नका लागि आधारशीला खडा भएको छ‚’ उनले भने ।

सर्वोच्चको संवैधानिक इजालासले गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटन गर्ने निर्णयलाई बदर गरेपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा नेतृत्वमा न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी रहेको संवैधानिक इजलासको सर्वसम्मतिले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयलाई बदर गरेको हो । फैसलामा १३ दिनभित्रै संसद बैठक बोलाउनसमेत भनिएको छ ।

प्रतिक्रिया