ओली समूहका नेताको गाडी तोडफोड

काभ्रे । काभ्रेपलाञ्चोकको चौँरीदेउराली गाउँपालिका-५ मा नेकपाका केन्द्रीय नेता चढेको गाडी गए राति तोडफोड गरी आगजनीको प्रयास गरिएको छ । गाउँपालिकाको ५ नम्बर वडा कमिटी विस्तार गर्ने आजको कार्यक्रमका लागि त्यहाँ पुगेका नेता बास बसेको घर नजिकै रोकिराखिएको बा१५च ७८२१ नम्बरको गाडी तोडफोड भएको हो ।

करिब एक दर्जन मोटरसाइकलमा आएको समूहले नेता बास बसेको नेकपाका जिल्ला सदस्य शिव गौतमको घर नजिकै पार्किङ गर्ने क्रममा राति १०ः३० बजे गाडी तोडफोड गर्न शुरु गरेको थियो । गौतमका अनुसार चालकले पार्किङ गर्न नपाउँदै गाडी छोडेर भागेका थिए ।

‘पेट्रोल झिक आगो लगाउनुपर्छ भन्दै सोही गाडीबाट पेट्रोल निकाल्ने प्रयास गर्दा नेता र स्थानीयवासी प्रतिकारमा उत्रन थालेपछि उक्त समूह भागेको थियो’, गौतमले भने । केन्द्रीय सदस्यहरू आइतबार चौँरीदेउरालीकै धुसेनीमा कार्यक्रम गरेर नेता गौतमको घरमा बास बसेका थिए ।

उक्त घरमा नेकपाका केन्द्रीय सदस्यत्रय चूडामणि गौतम, रीता ढकाल र प्रकाश गौतम तथा जिल्ला नेता लेखराज गौतम, इन्द्रबहादुर तामाङ लगायतको १६ जनाको टोली बास बसेको थियो । उक्त आक्रमणकारी समूहले अर्को स्थान बिरुवामा समेत नेता बास बसेको तिलक गौतमको घरअघि राति पटकपटक मोटरसाइकल घार्रघुर्र पारेर धम्कीको आभाष दिलाएको नेता गौतमले बताए ।

उनकाअनुसार चौँरीदेउरालीमा कुनै पनि कार्यक्रम नगर्न दाहाल-नेपाल समूहका नेताले धम्की दिइरहेका थिए । ‘हाम्रो रगत बगेको ठाउँमा अरु कसैले कार्यक्रम गर्न पाउँदैन’ भन्दै धम्कीपूर्ण भाषामा दाहाल-नेपाल समूहका स्थानीय जनप्रतिनिधि एवं नेताले आफूहरुलाई धम्क्याउँदै आएको नेता गौतमले बताए ।

उनकाअनुसार गाउँपालिका अध्यक्ष दीननाथ गौतम र स्थानीय नेता मुकुन्द गौतमले जिल्ला नेता इन्द्रबहादुर तामाङलाई समेत सोही भाषामा पटकपटक धम्की दिँदै आएका छन् ।

पूर्वमन्त्री एवं नेकपाका केन्द्रीय सदस्य गोकुलप्रसाद बाँस्कोटाले आक्रमणकारीलाई कानूनी दायरामा ल्याउन सम्बन्धित निकायलाई आग्रह गरेका छन् । ‘छापामार शैलीमा आक्रमण भएको छ, जनमत घटेपछि गरिएको यस्तो जङ्गली हर्कत सफल हुने छैन, विरोध गर्न पाइन्छ तर विरोधका नाममा आक्रमण हैन’, बाँस्कोटाले भने ।

उनले सामाजिक सञ्जालमार्फतसमेत नेकपाकै अर्को समूहलाई ‘नाङ्लो नठटाउन भन्छु, हामी सामना गर्छौँ भाग्दैनौँ’ भनेका छन् । कोशीपूर्वस्थित उक्त गाउँपालिकामा नेकपाले सङ्गठन विस्तार गरिरहेको अवस्थामा कार्यक्रम नगर्न केही हप्ता अघिदेखिनै धम्की आइरहेको चौँरीदेउराली गाउँपालिका निवासी एवं युवा सङ्घका जिल्ला संयोजक विक्रम चौलागाईंले बताए ।

उनकाअनुसार गाउँपालिकाको कात्तिकेदेउराली र विर्तादेउरालीमा कार्यक्रम नगर्न र गरे आक्रमण हुने धम्की दिएका थिए । इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक पवनकुमार झाले घटनाबारे अनुसन्धान भइरहेको बताए । –रासस

प्रतिक्रिया