‘ओलीको सेटिङ भत्किसक्यो, संसद् पुनर्स्थापना हुन्छ’

काठमाडौँ । नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीको सेटिङ भत्किसकेको दाबी गरेका छन् । नेकपा प्रवास समन्वय कमिटीको आयोजनामा भएको भर्चुअल अन्तरक्रियालाई सम्बोधन गर्दै प्रचण्डले यस्तो दाबी गरेका हुन् ।

सेटिङ भत्किएपछि ओली आत्तिएको भन्दै प्रचण्डले अब अदालतले केही दिनभित्रै प्रतिनिधि सभा पुनर्स्थापना गर्ने जिकिर गरे । ‘केपी ओलीको तथाकथित सेटिङ भत्किसकेको छ, केही दिनमै अदालतले संसद् पुनर्स्थापना गर्छ । अहिले माहोल सकारात्मक बनेको छ,’ उनले भने ।

यही कारण पछिल्लो समय प्रधानमन्त्री ओली विक्षिप्त भएर बर्बराएको उनको टिप्पणी छ । ‘केपीजीले विक्षिप्त भएर अदालतविरुद्ध आन्दोलन गर्छु भन्नुभयो, उपराष्ट्रपति, सभामुखलाई अपमान गर्ने काम गर्नुभयो,’ प्रचण्डले भने, ‘परिपक्व प्रदेश प्रमुखलाई बर्खास्त गर्नुभयो । यसले पनि उहाँ छट्पटिँदै जानुभएको देखिन्छ ।’

प्रधानमन्त्री ओलीले ७० वर्ष लामो आन्दोलनबाट प्राप्त उपलब्धिलाई एकै झट्कामा चकनाचुर पारेको उनको आरोप छ । ‘आफैले अघि सारेको प्रधानमन्त्रीलाई समयमा नियन्त्रण गर्न नसक्दा ७० वर्ष लामो आन्दोलनबाट प्राप्त उपलब्धिलाई केपी ओलीले एकै झट्कामा चकनाचुर पारे यसका लागि म माफी माग्छु,’ प्रचण्डले भने, ‘तर केपी ओलीले देशलाई अँध्यारो सुरुङभित्र लाने प्रयासलाई सर्वोच्च अदालतले रोक्ने र देश संविधानको बाटोमा पुन फर्कनेछ ।’

प्रतिक्रिया