जनतालाई दिग्भ्रमित नपार्न पार्टी नेतृत्वलाई पौडेलको आग्रह

कास्की । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नै पार्टीका नेताहरूले जनतालाई दिग्भ्रमित पार्ने कुरा बोल्दै हिँडेको आरोप लगाएका छन्।

नेता पौडेलले संविधानमाथि प्रहार भइरहँदा अदालतको निर्णय कुरेर बस्ने काम प्रमुख प्रतिपक्षको नभएको बताउँदै जनतालाई भ्रममा नपार्न पार्टी नेतृत्वलाई आग्रह गरेका छन्।

बिहीबार नेपाल मगर संघको गण्डकी प्रदेश सम्मेलनलाई सम्बोधन गर्ने क्रममा नेता पौडेलले पार्टी सभापति शेरबहादुर देउवातर्फ इंगित गर्दै भने, ‘आफ्नै पार्टीका नेताहरुले जनतालाई कन्फयुजनमा पार्ने कुरा बोलेर हिँड्ने? जे मन लाग्यो‚ त्यही बोलेर हिँड्ने?’

‘अदालतले फैसला गर्दा पनि संविधानमा जे लेखेको छ, त्यही भन्नुपर्छ। कांग्रेसले किन नभन्ने?’ संविधान बँच्यो भने मात्र निर्वाचनको अर्थ हुने भन्दै उनले भने, ‘किन चुनाव चुनाव भन्ने? चुनाव त पञ्चायतको बेलामा पनि भएको थियो नि।’

पार्टी केन्द्रीय कार्यसमितिले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको पुस ५ को कदम असंवैधानिक, अलोकतान्त्रिक र तानाशाही भएको भन्दै उनले तानाशाहीको विरोध गर्नु कांग्रेसको कर्तव्य भएको बताए।

देउवा भने अदालतको अन्तिम सुनुवाइ जे हुन्छ त्यसैलाई स्वीकार गर्ने बताउँदै आएका छन्।

वरिष्ठ नेता पौडेलले भने प्रधानमन्त्री ओलीले संविधानमाथि हमला गरेका बेला अदालतले के गर्छ भनेर हेरेर बस्ने हो कि लोकतन्त्रका रक्षाका लागि आफैं अगाडि सर्ने भनेर प्रश्न गरेका छन्।

प्रतिक्रिया