तुलसी दिवसको ‘नेपाली लोककथा’ पुनः प्रकाशित

काठमाडौं । लोक साहित्य तथा संस्कृतिका अध्येता तथा कवि तुलसी दिवसको लोककथा संग्रह ‘नेपाली लोककथा’ को पुनः प्रकाशन गरिएको छ। विसं २०३२ सालमा नेपाल प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित यो पुस्तक बुक हिल पब्लिकेसनले पुनः प्रकाशन गरेको हो।

पुस्तकमा नेपालका विभिन्न भेगमा बसोबास गर्ने जातिहरू तथा नेपालबाहिर बसोबास गर्ने नेपाली भाषीबीच प्रचलित १२२ वटा लोककथाहरू समेटिएका छन्।

पुस्तकमा समावेश गरिएका सांस्कृतिक, ऐतिहासिक, सामाजिक, अर्ती उपदेश, ठगी/चलाखी/लोभी/कन्जुस्याइँ, विश्वासघात, पशुपंक्षी, भूत, राक्षस, परी, जादु, दैवी, बहादुरीलगायतका विषयका लोककथाहरूमा स्थानीय भाषा, लवज र लोकजीवनको चित्रण गरिएको बुक हिलका अध्यक्ष भुपेन्द्र खड्काले जानकारी दिए।

बढ्दो आधुनिकीकरण र यान्त्रिकीकरणको युगमा लोककथाको पुस्तकले पाठकलाई आफ्नो अतीततिर फर्काउन र आफ्नो इतिहास बुझ्न मद्दत गर्ने उनको भनाइ छ।

कथानक भावका चित्रहरूसमेत समेटिएको पुस्तकको मूल्य ९ सय ९९ रुपैयाँ छ। ६ सय पृष्ठको पुस्तक ‘नेपाली लोककथा’ अनलाइनबाट पनि खरिद गर्न सकिने बुक हिल पब्लिकेसनले जनाएको छ।

प्रतिक्रिया