काठमाडौं-तराई द्रूत मार्ग : निर्माणकर्ता छनाैट प्रक्रिया पारदर्शी भएकाे सेनाकाे दाबी

काठमाडाैं । काठमाडौं–तराई द्रूत मार्गको जटिल कार्य गर्ने निर्माणकर्ता छनाैट प्रक्रिया पारदर्शी भएको दाबी गरिएकाे छ।

संघीय संसद राष्ट्रिय सभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बुधबारको बैठकमा काठमाडौं–तराई द्रुतमार्ग अन्तर्गत फेज टुका ठेक्का विषयमा परेको उजुरीमाथि भएको छलफलमा नेपाली सेनाले द्रूतमार्गको जटिल कार्य गर्ने निर्माणकर्ता छान्ने प्रक्रियामा कुनै अनियमितता नभएको दावी गरेको हो।

समितिमा काठमाडौं–तराई द्रुतमार्गको जटिल कार्य गर्ने निर्माणकर्ता छान्नका लागि नेपाली सेनाले पूर्वयोग्यता निर्धारण गर्न मागेको आवेदनमा आवश्यकभन्दा कम कम्पनीहरु छानिएको भन्दै उजुरी परेको थियो। नेपाली सेनाले पूर्वयोग्यता परीक्षणमा नेपाली कम्पनी बाहिर पारिएको भन्दै विरोध भइरहेको छ। यसै विषयमा समितिले द्रूतमार्ग हेर्ने नेपाली सेनाका अधिकारीहरुलाई बोलाई स्पष्टिकरण लिएको हो।

छलफलमा नेपाली सेनाका महासेनानी एवम् खरिद व्यवस्थापन महाशाखाका प्रमुख सुनिलसिंह राठोरले सार्वजनिक खरिद ऐनअनुसार नै पूर्वयाेग्यता निर्धारण गरिएको बताए। आयोजनाको निर्माण कार्य वि.सं. २०८१ मा सम्पन्न गर्नुपर्ने भएकाले तत्काल टेण्डर आह्वान गरी निर्माणकार्यलाई तीव्रता दिने प्रक्रिया सुरु गरिएको उनले समितिमा जानकारी गराए।

नेपाली सेनाले पूर्वयोग्यताका लागि २०७६ फागुन ३० गते सार्वजनिक रुपमा आवेदन आह्वान गरेको थियो। २०७६ चैत ११ गते देखि बन्दाबन्दी भएपछि सार्वजनिक खरिद अनुगमन कार्यालयले २०७६ चैत २५ गते पठाएको पत्रअनुसार म्याद थप गरी २०७७ भदौ ३० गते मात्रै प्रि सबमिसन मिटिङ गर्न सफल भएको पनि महासेनानी राठोरले बताए। प्रि सबमिसन मिटिङमा २१ जना प्रतिनिधिको उपस्थिति रहेको र उपस्थित हुन नसकेकाहरुलाई जानकारी गराइएको उनकाे भनाइ छ। त्यसपछि २०७७ असोज १४ गते खोलुवा मुचुल्का तय गर्दा प्याकेज नं. १ मा २१ वटा र प्याकेज नं. २ मा २२ वटा अन्तर्राष्ट्रिय कम्पनीहरुको आवेदन परेको थियो। यस्तै २०७७ पुस ९ गते मूल्याङ्कन समितिले गरेको मूल्याङ्कन अनुसार प्याकेज नं. १ मा २ जना र प्याकेज नं. २ मा १ जना अन्तर्राष्ट्रिय कम्पनी सूचीकृत भएको महासेनानी राठोरले जानकारी दिए।

द्रूतमार्ग आयोजनाका प्रमुख विकास पोखरेलले काठमाडौं–तराई द्रूतमार्गमा जटिल किसिमको काम गर्नुपर्ने ठाउँहरुलाई ११ वटा क्लस्टरमा विभाजन गरिएको बताए। त्यसमध्ये ५ र ६ नम्बर क्लस्टर अति जटिल भएकाले निर्माण कर्ता छनोट गर्दा पूर्व योग्यता निर्धारण गर्नुपरेको र सार्वजनिक खरिद नियमावलीअनुसार नै सो कार्य सम्पन्न गरिएको उनकाे भनाइ छ।

काठमाडौं–तराई द्रूतमार्ग ७२ दशमलव ५ किलोमिटरको रहेको छ। जसमा ३ वटा सुरुङ मार्ग र ८७ वटा पुलहरु निर्माण हुनेछन्। बाटोको चौडाई पहाडमा २५ मिटर र तराईमा २७ मिटर रहनेछ। द्रुतमार्गमा पर्ने तीनवटै सुरुङमार्गको लम्बाई ६ किलोमिटर हुनेछ भने ८७ वटा पुलको कुल लम्बाई १० किलोमिटर रहनेछ। द्रूतमार्गमा जटिल किसिमको काम गर्नुपर्ने ठाउँहरुलाई ११ वटा क्लस्टरमा विभाजन गरि काम शुरु भएको छ।

प्रतिक्रिया