​​​​​​​पत्रकारितामा मुख्य चुनाैती पारिश्रमिक

काठमाडाैं । पत्रकारितामा पारिश्रमिकको कुरा मुख्य चुनौतीको रुपमा आएको पत्रकारहरुले बताएका छन्।

बुधबार नेपाल पत्रकार महासंघको २६ औँ महाधिवेशनका लागि काठमाडौंमा भेला भएका पत्रकारहरुले पत्रकारिता क्षेत्रमा विभिन्न चुनौतीहरु रहेपनि पत्रकारहरुले पाउने पारिश्रमिक नै प्रमुख चुनौतीको रुपमा देखा परेको बताएका हुन् । पत्रकारहरुले सञ्चार माध्यमबाट तोकिएको पारिश्रमिक नपाउने तथा पाएपनि ढिलो गरी पाउने भएकाले पत्रकारहरु समस्यामा पर्ने गरेको उनीहरूकाे तर्क छ।

सुर्खेतबाट गोरखापत्र संवाददता मुना हमालले मोफसलका मिडियामा पारिश्रमिककै अप्ठ्यारो रहेको बताइन्। न्यूनतम पारिश्रमिक नपाउने समस्यासँगै मिडियाले तोकेकै पारिश्रमिक पनि पाउने अवस्था नरहेको उनको भनाइ छ।

नेपाल पत्रकार महासंघ सिन्धुली शाखाका अध्यक्ष राजन कार्की कोभिड १९ पछि पत्रकारिताको अवस्था लथालिङ्ग भएको बताउँछन्। स्थानीयस्तरमा धेरै सञ्चारमाध्यमहरु खुलेका भएपनि स्थानीय सरकार पत्रकारमैत्री नुहुँदा चुनौतीहरु उत्पन्न हुने गरेको उनकाे भनाइ छ। पत्रकारहरुको शान्ति सुरक्षाको समस्या पनि भयावह रुपमा बढेको उनले बताए।

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका अध्यक्ष शन्तराम बिडारीले कोभिड–१९ को बाहानामा पत्रकारहरु जागिरबाट निस्किने तथा पारिश्रमिक नपाउने समस्या उत्पन्न भएको बताए। ठूला मिडिया हाउसहरु केवल व्यवसाय उन्मुख मात्रै भएको उनको भनाइ छ।

यस्तै नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामप्रसाद दाहालले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउने खालका कानूनहरु नआउन् भन्ने तर्फ ध्यान दिनुपर्ने बताए। महासंघका केन्द्रीय सचिव रेम विश्वकर्माले पत्रकारहरुले स्वतन्त्र रुपले लेख्न, बोल्न पाउने वातावरण बन्न नसकेको बताए।

प्रतिक्रिया