सर्वसाधारणका लागि गद्दी बैठक खोलिँदै

काठमाडाैँ । भूकम्पका कारण क्षति भएको गद्दी बैठक अब सर्वसाधारणका लागि पनि खोलिने भएको छ । पुनर्निर्माणपछि तत्काल खोल्ने भनिए पनि केही आन्तरिक तयारी गर्नुपर्ने भएकाले अझै केही समय लाग्ने बताइएको छ ।

अमेरिकी दूतावास र संस्कृति सम्पदा कोषले पुनर्निर्माण गरेको गद्दी बैठक वि.सं. २०७५ असारमा नै नेपाललाई हस्तान्तरण गरिएको थियो । त्यही दिन प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसको उद्घाटन गरेका थिए । विदेशीलाई स्वागत गर्न विशिष्ट किसिमको छुट्टै बैठककक्षको आवश्यकता महसुस गरेर तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरको पालामा १९६५ सालमा वसन्तपुर दरबारमा युरोपेली वास्तु शैलीमा बेलायती बैठक (गद्दी बैठक) निर्माण गरिएको थियो ।

सुरुमा यो भवनमा विदेशी पाहुनासँग राजाको औपचारिक भेटघाट आयोजना हुन्थ्यो । राजा नारायणहिटी दरबारमा बस्न थालेपछि यसको प्रयोग कम हुँदै गयो । अहिले यसको प्रयोग राष्ट्रप्रमुखले जीवित देवी कुमारीको दर्शन र वसन्त श्रवण गर्दा मात्र हुन्छ । रासस

प्रतिक्रिया