नारायणहिटी अघिल्तिरको सभाको अर्थ !

काठमाडौं । प्रतिनिधि सभा विघटन लगत्तैदेखि नेकपाका दुई पक्ष सभामा जुटेका छन् । दुवै पक्षका शीर्ष नेता सभामा सम्बोधन  गर्न न्वारानदेखिको बल लगाएर लागेका छन् । उनीहरु एकले अर्कोलाई खुइल्याउने क्रममा कुन तहमा झर्ने भन्ने हेक्का नराखेका र आफ्नै मर्यादासमेत भुलेर अघि बढिरहेका छन् ।

देशैभरिजसो सभा गर्ने र सकेसम्म धेरैजनालाई उपस्थित गराएर ‘तँ भन्दा म वीर’ भन्ने देखाउने होड चलिरहेको छ ।  उनीहरुलाई यो कोभिड संक्रमणको जोखिमयुक्त समय हो भन्ने कुराको रत्तिभर होस् छैन वा आफ्नो स्वार्थका लागि नागरिकको स्वास्थ्यको कुरालाई मतलब गरिरहेका छैनन् । यसै क्रममा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाले माघ २३ गते काठमाडौंमा आमसभा गर्दैछ ।

बग्रेल्ती सभाहरु भइरहेका र नेताका भाषणको स्तर र औचित्य थाहा भइसकेका बेला थप एक सभाको ठूलो अर्थ हुनुपर्ने खास कारण त देखिँदैन । तर, २३ गतेको सभाले भने अलि बेग्लै खालको तरङ्ग सिर्जना गरेको छ ।

२३ गतेको सभा यसअघिका सभाहरुभन्दा छुट्टै खाले हुने ओली पक्षीय नेताहरुकै दाबीले यसमा केही कौतुहलता जगाइदिइरहेका बेला सभास्थलले शंका थपेको छ ।

आमसभा नारायणहिटी दरबार अगाडि हुने तय भएसँगै आइतबारबाट यसले नयाँ तरङ्ग सिर्जना गरेको हो । नेकपाकै अर्को समूहका नेता सुरेन्द्र पाण्डेले त सभामार्फत् प्रधानमन्त्री ओलीले नेपाललाई हिन्दु राज्य घोषणा गर्न पनि पछि नपर्ने बताए ।

ओली पक्षले भने खुला ठाउँ नभएका कारण मात्र त्यो ठाउँ तोकिएको बताएको छ । मकालु खबरसँग कुराकानी गर्दै ओली पक्षका प्रवक्ता प्रदीप ज्ञवालीले पाण्डेको टिप्पणीलाई ‘कठै’ मात्र भन्न सकिने टिप्पणी गरेका छन् ।

‘सडकनै रोज्ने भए त अन्त पनि थिए नि ?’ भन्ने जिज्ञासामा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भने ‘यसको कुनै ठूलो अर्थ छैन, मूल कुरा के हो भने हामीकहाँ काठमाडौंमा ठूलो ओपन स्पेस नभएकाले त्यहाँ सभा गर्न लागिएको हो ।’ यसअघिका सभाहरु सडकमै गर्दा पनि रत्नपार्क, भृकुटीमण्डप, नयाँ बानेश्वर वा कोटेश्वरमा हुने गरेका छन् । तर, सडकमा सभा गर्दा नागरिकलाई धेरै असुबिधा हुने र नारायणहिटी दरबार अघिल्तिरको सडकका धेरै बिकल्प भएकाले त्यहि ठाउँ रोजिएको उनले बताए ।

संयोग मात्र पनि हुनसक्छ । तर लुवाई–खुवाईदेखि बोलीचाली र कटाक्षहरुलाई समेत शंका गर्नुपर्ने अहिलेको बेलामा ओली पक्षले सभाका लागि एउटा नौलो र अर्थपूर्ण ठाउँ रोज्नुको कनेक्सन के होला भन्ने कौतुहलता भने बढाएको छ । अर्कातिर २३ गतेको सभामा केही ठूलो खुलासा हुनेवाला छ भनेर ओली पक्षका नेताहरुले पटकपटक भन्नुले पनि यसमा थप शंका जन्माइदिएको छ ।

प्रतिक्रिया