बिरामी छन् ‘जुङ्गे दाइ’

  • दिक्षा कट्टेल

काठमाडौं । वरिष्ठ कला निर्देशक तथा कलाकार उद्धव भट्टराई ‘जुङ्गे दाइ’ अस्पतालको शैय्यामा छन् । दमका रोगी भट्टराई आफ्नाे घर बैतडीमै रहँदा झनै समस्या बढेपछि काठमाडौं आएका हुन् । शुरुमा दम साथै खुट्टा सुन्निने समस्या देखिए पनि परीक्षणपश्चात् अन्य समस्यासमेत देखिएकाे परिवारले जनाएकाे छ । वीर अस्पतालको आकस्मिक कक्षमा रहेका उनको मुटु, फोक्सो तथा मिर्गौलामा समेत समस्या देखिएको छ । ‘जुङ्गे दाइ’ नामले परिचित भट्टराई चार दशकदेखि चलचित्र नगरीकाे भेषभूषा तथा कला क्षेत्रमा काम गरिरहेका छन् ।

‘प्रेम गीत ३’ को लोगो भएको ज्याकेट लगाएका भट्टराईको तस्वीर फेसबूकमा देखेपछि हामीले चलचित्रकर्मी सन्तोष सेनलाई सम्पर्क गर्यौँ । उनले भट्टराईसँग ३ चलचित्र प्रेम गीत १ र ३ साथै मेरी मामुमा काम गरेका रहेछन् । चलचित्र क्षेत्रमा भट्टराई चाहिने मान्छे भएको सेन बताउँछन् । भेषभूषादेखि सेटमा प्रयोग हुने विभिन्न सामाग्री ‘प्रोम्प्स’ बनाउने काममा उनको स्तरमा कोही पनि नभएको सेनको दाबी छ । भारतमा रहेका सेन एक दुई दिनमा नेपाल फर्किएर भट्टराईको उपचारमा लाग्ने बताउँछन् । मिजासिलो स्वभाव, कामप्रतिको समर्पण र जुनै परिस्थितिमा पनि सहजै मिल्ने स्वभावका कारण नै भट्टराई चलचित्रकर्मीको आँखाको नानीका रूपमा रहेका छन् ।

कलाकार निर्मल शर्माले अस्पताल पुगेर उनलाई भेटेर फर्केपछि उनकाे उपचारका लागि केही पहल आफुले पनि गर्ने बताएका छन् ।

त्यस्तै कलाकार जितु नेपाल ‘मुन्द्रे’ सहयोग लिएर भट्टराईलाई भेटेर फर्किएका छन् । उनले अन्य कलाकर्मीबाट समेत सहयोगको अपेक्षा गर्दै भट्टराईका साथ काम गर्दाका क्षण सम्झिएका छन् । फेसबूकमा तस्वीर सार्वजनिक गर्दै उनले पनि शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

यसै पनि अनुहार देखिन छोडेपछि कलाकारलाई बिर्सिने प्रचलन त छ नै । अझ भट्टराई त अभिनयभन्दा पनि पर्दा पछाडि रहेर काम गर्ने मान्छे । उपचार अभावमा केही दिनअघि मात्रै सङ्गीतकर्मी रत्न बानियाँले ज्यान गुमाए । भट्टराईलाई बचाउने जिम्मा अब कसले लिने होला ?

प्रतिक्रिया