एकैसाथ तीन चलचित्र तर दर्शक खाेइ ?

काठमाडाैँ । चलचित्र ‘मन सँग मन’ नयाँ वर्षको छेको पारेर चैत २७ गतेबाट प्रदर्शनमा आउने भएको छ ।  चलचित्र ‘कृष्ण लीला’ समेत नयाँ वर्षको अवसर मै हलमा लाग्ने खबर बाहिरिएको छ । यस्तै चलचित्र ‘लप्पन छप्पन २’ समेत चैत्र २७ मा नै रिलिज हुने भएको छ ।

एक वर्ष बित्नै लाग्यो चलचित्र क्षेत्र चलायमान हुन नसकेको । माघ एक गते लामो समय पछि चलचित्र ‘यस्तो एउटा प्रेम कहानी’ सार्वजनिक भयो । तर, लामो समय यता शून्यको स्थितिमा रहेको चलचित्रको पर्दामा उक्त चलचित्र एक्लै भने आउन पाएन । कन्नड चलचित्र ‘मास्टर’ सँग एक साथ आउनु परेको थियो । चलचित्रलाई दर्शकले मन पराएनन् । त्यसपछि अरू कुनै नेपाली चलचित्र हलमा लागेका छैनन् । प्रणय दिवसको अवसर पारेर प्रदर्शन गर्ने भनिएको चलचित्र ‘म यस्तो गीत गाउँछु २’ समेत पछि सर्ने लगभग पक्का भएको छ ।

फागुन २७ गते रिलिज गरिने भनिएको मुकुन्द भट्टकाे निर्माण तथा निर्देशन रहेकाे चलचित्र ‘लप्पन छप्पन २’  एक महिनापछि सरेको हो । चलचित्रको भिएफएक्सको काम नसकिएको भन्दै चलचित्र प्रदर्शनको मिति सारिएको बताउँछन् निर्देशक भट्ट ।

यसैबिच, तीन चलचित्र एकसाथ आउँदा निर्माण पक्षलाई फाइदा पुग्ने देखिँदैन । त्यसैमाथि दुई चलचित्रका मुख्य कलाकार पुष्प खड्का रहेका छन् । यसरी हेर्दा पुष्पलाई अझ बढी घाटा हुने देखिन्छ ।

चलचित्र चलाउन निर्माता नमानिरहेको अवस्थामा एकै पटक धेरै चलचित्र जरुरी होला त ? कि एक अर्कासँग लड्नैपर्ने चलचित्र क्षेत्रको परीपाटी कहिल्यै नहट्ने हो? जति पनि शुक्रवार खाली भएको अवस्थामा मिति फरक पारी चलचित्र प्रदर्शन गरेर नजुधे हुन्न र ?
प्रतिक्रिया