साङ्गीतिक अपजस नभोगेकी मेचुको पश्न : ‘मैले के बिगारेँ ?’ [भिडिओसहित]

  • धनबल राई

काठमाडौं । ‘मान्छे सामाजिक प्राणी हो । उसलाई कुनै निश्चित विन्दुमा पुगेर घर, परिवार अनि समाज चाहिन्छ । तर, अन्ततोगत्वा मान्छे एक्लै हो’, अपवादको समय र परिस्थितिउप्रान्त अनौपचारिक रुपमा गफिँदा पनि गायिका मेचु धिमालको मुखबाट घरीघरी मुखरित हुने वाक्यांश यो नै हो । मेचुसँग म थोरैचोटी भए पनि लामै समय गफिएको छु । परिणामतः उनको साङ्गीतिक प्रवृत्तिसँग म केही हदसम्म परिचित पनि छु । करिब २ वर्षअगाडि चिनजान भएको हामीबीच ३ चोटी अनौपचारिक भेटघाट भएको छ । जहाँ मेचुले बातचीतको ‘सितन’ को रुपमा सर्वप्रथम पस्काउने वाक्यांश माथि शुरुमा उल्लिखित नै हो ।

 मेचुको यो ‘सितन’ आफ्नै मनको शराबसँग कम स्वादिष्ट चाहिँ थिएन मेरो लागि । तर, मेचुको प्रश्नले बीचमै केही अलमलिएँ । किनकी उनी भन्दै थिइन्, ‘मैले के बिगारेँ ?’ उसैबखत मेरो सम्झनाको क्षितिजबाट टुप्लुक्कै सु–प्रसिद्ध लोककलाकार बालकिशन जुआह उक्लिन्छन् र भन्छन्, ‘संगीतको परिभाषा शब्दमा बाँध्न सकिँदैन । संगीतमा ईश्वरीय रुप देख्न सकिन्छ । जसरी दिव्य भावना केवल दिमागले महसुस गर्न सक्दछ, त्यसरी नै दिमागबाट संगीत पनि महसुस गर्न सकिन्छ ।’ अनि म पक्का हुन्छु– मेचुले उही भावनाले ओतप्रोत गीत गाइसकेछिन् भनेर । नभन्दै गाउँदै रहेछिन् मेचु, भन्दै रहेछिन्, ‘हाँस्दै थियो कोपिला त्यो पापी आँखा लाग्यो, दिन पनि रात पनि उस्तै लाग्न थाल्यो, हुरी चल्यो जिन्दगीमा न त रोक्न सकेँ, पवित्र त्यो दियो निभ्यो के गरुँ खै मैले, हारेँ मैले हारेँ दैव तिमीसँग हारेँ, बज्रपात किन भन मैले के बिगारेँ…?

मेचु आध्यात्मिक पाटोसँग नजिक रहेकी गायिका हुन् भनेर मैले व्यक्तिगत रुपमा चिन्छु । आध्यात्मलाई नजिकबाट नियाल्न खोज्ने मेचुसँग यो गीतको दृश्यमा देखिएकोजस्तो थुप्रै कथाहरु छन् । उनले कति कथा लेखिन्, कति लेख्न बाँकी छन् त कति लेख्न सजिलो छैनन् । जुन कोरिहाल्न औंलाहरु चल्न मान्दैनन् त गाइहाल्न पनि हुँदैन कि जस्तो लाग्छन् । त्यसो त मेचु आफैँमा बुहआयामिक पात्र पनि हुन् । उनी नाँच्न सक्छिन् छमछमी, बजाउन सक्छिन् मिलाएर अनि मञ्चिन सक्छिन् मज्जासँग । ‘मैले के बिगारेँ ?’ मा सपार्न खोज्न प्रयास गरिरहेका ज्वाला राईलाई पनि उनै मेचुले सघाएकी छन् त निर्देशन पनि उनी आफैँले गरेकी छन् । ‘यो भिडिओबाट राम्रो प्रतिक्रिया आइरहेका छन् । जुन मेरो साङ्गीतिक जीवनको एउटा महत्वपूर्ण गीत हो भनेर पनि लिएको छु’, मेचुले भनेकी छन् ।

विश्वव्यापी महामारीको रुप लिएको कोभिड उन्नाइसका कारण आर्थिक जोहो गर्न गाउँबाट शहर पसेका एक घरमूलीले मृत्युवरण गर्नुपर्दा घरमा देखिने समस्या बोलेको भिडिओले समसामयिक समस्यालाई देखाएको कटु सत्य ठम्याउन जोकोहीलाई मुस्किल पर्दैन सायद । त्यसमा पनि लेखु सहयात्रीको शब्द, करणराज कार्कीको संगीत र देवेश राईको एरेञ्जले त यसलाई अझै प्रकाश पारेको छ । त्यसो त पिटर गुरुङ, विष्णुहरि तिमल्सिना, राज पोखरेल, अनिमेश जोर्डन अनि सञ्जीव श्रेष्ठको ‘टिमिङ्ग’ पनि कम गज्जब चाहिँ छैन ।

हुन त नेपाली साङ्गीतिक भूगोलमा अनेकन खालका स्रष्टाहरुको जन्म भइनैरहेको छ । तरै पनि कतिपय स्रष्टाको सिर्जनाले दर्शक/स्रोताहरुको साङ्गीतिक तिर्खा नमेटिएको कुरालाई पनि नकारिहाल्न मिल्दैन । त्यसमा ‘टाइमिङ्ग’ र ‘टिमिङ्ग’ नै मुख्य कारक भन्ने त पक्कै हो । तर, पनि कसले स्वरबद्ध गरेको हो भन्ने कुरालाई पनि विशेष रुपमा हेर्छन् अहिलेका जानकार दर्शक/स्रोताहरु । तर, यो विषयमा मेचुले भने कुनै खालको अवजस लिनुपरेको छैन ।

नेपालको सबैभन्दा ठूलो रियालिटी शो ‘दि भ्वाइस अफ नेपाल’मा उत्कृष्ट ५ सम्म र नेपाली तारामा उत्कृष्ट २० सम्मको यात्रा सफल रुपमा गरेकी मेचु भन्ने गर्छिन, ‘थोरै तर राम्रै गरौँ भन्ने लाग्छ । अहिले गरेको पनि त्यही नै छ ।’ कारण यो पनि हो कि, मेचु संगीतमा धेरै संघर्ष गरेर आएकी हुन् । जहाँ, संघर्ष भनेको बुझाइ हो । अनि जसले बुझेर आउँछ, उसले गज्जबै गर्छ भन्ने मान्यता त विश्वव्यापी नै पनि हो ।

संगीतको मूल बाटो हुँदै उहिल्यै केचना छोडेकी मेचु साङ्गीतिक सगरमाथातिर लम्किँदै छिन् । शुभकामना ।

प्रतिक्रिया