दोबाटोमा कांग्रेस : आन्दोलन कि निर्वाचन ?

  • धनबल राई

काठमाडौं । प्रतिनिधि सभा विघटनपछि संसदमा प्रतिनिधित्व गर्ने सबैजसाे दल सडक संघर्षमा निस्किए । आन्दोलनको ठूलो ‘इनिसिएसन्’ नेकपाकै पुष्पकमल दाहाल (प्रचण्ड) र माधवकुमार नेपाल समूहले लिएको छ ।

त्यसो त संविधानविद्सँगै कानूनका जानकारदेखि नागरिकस्तरबाट समेत स्वतःस्फूर्त रुपमा संसद् विघटनविरुद्ध निरन्तर प्रदर्शन नभएका होइनन् । तर, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको भूमिकाप्रति भने सशङ्कित हुने अवस्था रहेकाे टिप्पणी राजनीतिक क्षेत्रमा भइरहेकाे छ ।

प्रतिनिधसभा विघटनबारे कांग्रेसले वडास्तरसम्मै विराेध प्रदर्शन गरिरहेकाे त छ तर अर्कातिर चुनावको तयारी पनि स‌ँगै गरिरहेकाे छ । याे विषयमा कांग्रेसका नेता कार्यकर्ता स्पष्टत: दूई खेमामा विभक्त देखिन्छन् । एकथरि कांग्रेस लाेकतान्त्रिक दल भएकाले चुनावबाट भाग्न हुँदैन भनिरहेका छन् भने अर्काथरि चुनावमा जाने नजाने भन्दा पहिलाे कुरा प्रधानमन्त्री केपी
ओलीकाे कदमकाे विरोध गर्ने कि उनले असंवैधानिक रुपमा ताेकेकाे चुनावको लाेभ गर्दै उनकाे पछिपछि लाग्न हुँदैन भन्नेहरु छन् ।

खासगरी कांग्रेस सभापति शेरबहादुर देउवाले नै याे बारेमा प्रभावकारी भूमिका र स्पष्ट अडान नलिएकाे भन्दै प्रश्न उठ्दै आएको छ । त्यसो त सभापति देउवा आफू स्वयम्ले नै शंका गर्ने ठाउँ राखिदिएका छन् । ‘सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा जुलुश निकालेर दबाब सिर्जना नगरौँ ।’ गत २५ पुषमा काठमाडौंको विरोध सभालाई सम्बोधन गर्दै सभापति देउवाले भनेका थिए । देउवाले यही प्रकृतिकाे बिचार राख्दै आएका छन् ।

त्यसैकारण कतिपयले उनलाई ओलीले उनलाई फकाइसकेकाे ठाेकुवा गरिरहेका भेटिन्छन् । देउवा निकट नेता रमेश लेखकले भने देउवाले विज्ञप्ति नै जारी गरेर आन्दोलनमा सरिक हुन अनुरोध गरेपछि देउवामाथि कुनै शंका/उपशंका नै नभएको दाबी गर्छन् । ‘सभापतिज्यूले विज्ञप्ति नै जारी गरेर आन्दोलनहरुमा सक्रिय सहभागी हुन अनुरोध गरिरहनुभएको छ’, मकालु खबरसँग लेखकले भने, ‘यति हुँदा पनि सभापतिमाथि शंका गर्नुपर्ने ठाउँ छ र ?’

हुन त कांग्रेस अहिले पनि सडकमै छ । बिहीबार मात्रै पनि देशभरका ६ हजार ७ सय ४३ वटै वडामा कांग्रेसले प्रदर्शन गरेको छ । यसअघि नै पनि देशका ठूला शहरदेखि १६५ वटै निर्वाचन क्षेत्रमा समेत कांग्रेसले पदर्शन गरिसकेको अवस्था छ । तर,  त्यसमा पनि कांग्रेस नेताहरुले आफ्नो लाइन अनुसार धारणा राख्ने गरेका छन् ।वरिष्ठ नेता रामचन्द्र पौडेल र युवा नेता गगन थापाले भने शुरुदेखि नै प्रधानमन्त्रीकाे कदमकाे खुलेर विरोध गराैँ भन्ने लाइनमा कुरा राखिरहेका छन् ।

त्यसो त कांग्रेसले चुनावको तयारी पनि गरिनै रहेको छ । कांग्रेसले आगामी १७ र २७ बैशाखको लागि घोषणा गरिएको मध्यावधि चुनावकै तयारीस्वरुप मतदाता नामावली अद्यावधिक गर्न जिल्ला कार्यसमितिलाई परिपत्र गरिसकेको छ ।  पार्टीभित्र निर्वाचनको तयारी गर्ने वा आन्दोलनलाई निरन्तरता दिने भन्नेमा साझा धारणा नबन्दै कांग्रेसले निर्वाचनको तयारी शुरु गरेको देखिएको हाे । यसरी हेर्दा कांग्रेस ‘जे भए नि ठीकै छ’ भन्ने मूडमा देखिन्छ । जनताले दिएका म्यान्डेडअनुसार सत्ता प्राप्तिको लागि अझै सिङ्गै दुई वर्ष कुर्नुपर्ने कांग्रेस सडकमा त छ नै सँगै सत्तामा ‘चान्स्’मार्ने दाउमा पनि देखिन्छ ।

यता ओलीइतर नेकपाले पनि देउवालाई प्रधानमन्त्रीको रुपमा स्वीकार्नु आफूलाई अप्ठ्यारो नहुने बताइसकेको छ । गत ६ गते मात्रै एउटा अन्तरवार्तामा प्रचण्डले भनेका छन्, ‘मुख्य काम संविधान बचाउने हो, फेरि प्रधानमन्त्री म दावी गर्दिनँ । संसद् पुनर्स्थापना भयो भने शेरबहादुर देउवाजीलाई प्रधानमन्त्री स्वीकार्न मलाई केही अप्ठ्यारो छैन । पहिले पनि देउवालाई प्रधानमन्त्री बनाएकै हो ।’ यता जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले पनि उही प्रकृतिका भनाइ दोहोर्याउनु देउवाको लागि दुःखद् हुँदै होइन ।

विघटित संसद् पुनर्स्थापना हुने कि मध्यावधि चुनाव हुने भन्ने अन्यौलताबीच नै कांग्रेसले दुवै काम सँगसँगै अगाडि बढाउने नीति अख्तियारी गरेको छ । विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको दर्जनभन्दा बढी रिटउपर गत आइतबारबाट निरन्तर सुनुवाइ हुँदै छन् । प्रधानन्यायाधीशको संवैधानिक इजलासमा चलिरहेको सुनुवाइको फैसला नआइन्जेलसम्म यही अन्यौल रहने निश्चित छ ।

तर, कांग्रेसका शुभचिन्तकहरु भने संसद् पुनर्स्थापना भए संसद् ठीक चुनाव भए चुनाव ठीक भन्ने दोहोरो चरित्र छोडेर कित्ता क्लियर गर्न कांग्रेसलाई सुझाइरहेका छन् ।

प्रतिक्रिया