मकालु खबर दिनभर : यी हुन् आजका प्रमुख १० समाचार

ओली समूहलाई प्रचण्डको चेतावनी : नेकपा र सूर्य चिन्ह खोसे आँधीहुरी आउँछ

सत्तारूढ नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओली समूहले नेकपा र सूर्य चिन्ह खोसे आँधीहुरी आउने चेतावनी दिएका छन् । मंगलबार गण्डकी प्रदेश कमिटीले आयोजना गरेको बृहत् कार्यकर्ता भेलामा अध्यक्ष दाहालले यस्तो चेतावनी दिएका हुन् ।

|पुष्पकमल दाहाल ‘प्रचण्ड’। तस्वीरः मकालु खबर|

‘नेपाल कम्युनिस्ट पार्टी (ने क पां) र सूर्य चिन्ह हाम्रै हुन्छ । यदि कसैले खोस्यो भने आँधीहुरी बतास आउँछ । तर मलाई विश्वास छ, सर्वोच्च अदालतले पनि हाम्रै पक्षमा फैसला गर्नेछ’, अध्यक्ष दाहालले भने । यस्तै प्रचण्डले आफूहरुसँग बहुमत भएको पनि दाबी गरेका छन् । ७० प्रतिशत मत आफ्नो पक्षमा रहेको उनी बताउँछन् । ओलीले अल्पमतका कारण केन्द्रीय समिति विस्तार गरेको उनको टिप्पणी छ ।

अध्यक्ष प्रचण्डले नेकपाभित्रको विवादका बारेमा पनि थप स्पष्ट पारेका छन् । पार्टीभित्रको विवाद र बहस पदको लुछाचुडीका लागि नभएर विचार र सिद्धान्तका लागि भएको अध्यक्ष दाहालको भनाइ छ ।

ओलीमा कम्युनिस्ट आचरण छैन : माधव नेपाल
सत्तारूढ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीमा कम्युनिष्ट आचरण नभएको बताएका छन् । मंगलबार गण्डकी प्रदेश कमिटीले पोखरामा आयोजना गरेको कार्यकर्ता भेलामा सम्बोधनका क्रमा नेता नेपालले सो धारणा राखेका हुन् ।

नेकपा वरिष्ठ नेता माधवकुमार नेपाल। फाइल फोटो।

‘केपी ओलीजीले बाटो बिराउनु भएको छ । उहाँमा कम्युनिस्ट आचरण नै छैन’, नेता नेपालले कार्यकर्ता भेलामा भने । माधव–प्रचण्ड समूहका अध्यक्ष समेत रहेका नेपालले ओली सही बाटोमा फर्किएर सच्चिन समेत आग्रह गरे । उनले भने, ‘केपी ओलीजीले संविधानमा ठूलो घात गर्नु भएको छ । म उहाँलाई अहिले नै सच्चिन आग्रह गर्छु( प्रतिनिधिसभा विघटनको निर्णय बेठीक भयो भन्नुस् । गल्ती स्वीकार गर्नुस् ।’

मन्त्रिपरिषद् विस्तारविरुद्ध परेको रिट हेदाहेर्दैमा, माघ ११ मा सुनुवाई

मन्त्रिपरिषद विस्तार कानून विपरित भन्दै परेको रिट सर्वोच्च अदालतमा हेर्दा हेर्दैमा परेको छ । सर्वोच्च अदालतका न्यायाधीशहरु सुष्मालता माथेमा र विश्वम्भरप्रसाद श्रेष्ठको संयुक्त इजलासमा पेसी चढेको रिट हेर्दाहेर्दैमा परेपछि ११ माघमा सुनुवाई हुने जनाइएको छ ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रतिनिधिसभा बिघटनपछि कामचलाऊ बनेको सरकारले मन्त्रिपरिषद विस्तार गर्नु कानून विपरित हुने भन्दै रिट दायर गरेका थिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा ५ पुसमा प्रतिनिधिसभा विघटन गरेकी थिइन् । १० पुसमा गरिएको मन्त्रिपरिषद् विस्तार खारेज गर्नुपर्ने रिटमा उल्लेख छ । रिट निवेदकहरूले प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपति कार्यालयलाई प्रतिवादी बनाएका छन् ।

कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू गर्ने बाटो खुल्यो
कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू गर्ने बाटो खुल्ला भएको छ । पुरानै पाठ्यक्रम लागू गर्न माग गर्दै भागवता अर्यालले दायर गरेको रिट निवेदन सर्वोच्च अदालतले खारेज गरिदिएपछि नयाँ पाठ्यक्रा लागू गर्न बाटो खुल्ला गरेको हो । न्यायाधीस तेजबहादुर केसी र प्रकाशकुमार ढुँगानाको इजलासले रिट खारेज गर्ने निर्णय गरेको सर्वोच्च अदालतका सञ्चार विज्ञ किशोर पौडेलले जानकारी दिए ।

सरकारले यसबर्षदेखि कक्षा १ र ११ मा नयाँ पाठ्यक्रम लागू गर्ने निर्णय गरि कार्यान्वयनमा ल्याएपनि कोभिड लगायत कारणले यो सम्भव नभएको भन्दै यसपटक लागू नगर्न सर्वोच्चमा रिट दायर गरिएको थियो ।

३९० संक्रमित निको हुँदा ४३० मा संक्रमण पुष्टि, ५ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा ४३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना कुल कोरोना संक्रमितको संख्या दुई लाख ६५ हजार ६ सय ९८ पुगेको छ ।

यस्तै विगत २४ घण्टामा ३९० जना संक्रमित कोरोना मुक्त भएका छन् । संक्रमितमध्ये २ लाख ५९ हजार ३५८ जना निको भइसकेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुुसार कोरोना संक्रमणका कारण थप ५ जनाको मृत्यु भएको छ । मृतक संख्या १ हजार ९३२ पुगेको छ । यसैगरी आज क्वारेन्टिनमा २ सय ३७ जना रहेका छन् भने सक्रिय संक्रमित संख्या ४ हजार ४०८ रहेको छ ।

‘बाँडीचुँडी खान पल्केकालाई निर्वाचन घोषणाले तनाव दिएको छ’
ओली समूहका नेता तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले प्रधानमन्त्री ओलीलाई आफ्नै पार्टीभित्रका नेताले काम गर्न नदिएका कारण प्रतिनिध सभा विघटन गर्नुपरेको बताएका छन् । मंगलबार संस्कृति मन्त्रालय अन्तर्गत नेपाल निजामति कर्मचारी संगठनका प्रतिनिधिसँगको छलफलका क्रममा बाध्यात्मक ढंगले निर्वाचनको विकल्पमा जानु परेको तर्क गर्दै मन्त्री ढकालले आगामी वैशाख १७ र २७ गते निर्वाचन भएरै छाड्ने दावी समेत गरे ।

छलफल कार्यक्रममा उनले नेपाल–दाहाल समूहलाई लक्षित गर्दै बाँडीचुँडी खान पल्केकाहरु निर्वाचनमा जान डराएर प्रतिनिधि सभा पुनर्स्थापना भन्दै हिँडेको आरोप समेत लगाए । उनले भनेका छन्– ‘जनतामा नगई पार्टीभित्र बाँडीचुँडी खान पल्केकालाई निर्वाचको घोषणाले तनाव दिएको छ । निर्वाचनको सामना गर्न डराइरहेका छन् ।’

दमकको भुटानी शरणार्थी क्याम्पमा आगलागी हुँदा एक जनाको मृत्यु
जिल्लाको दमक, बेल्डाँगीस्थित भुटानी शरणार्थी शिविरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । दमक नगरपालिका– ३ स्थित भुटानी शरणार्थी सिविरको सेक्टर नम्बर डि ४ हट नम्बर ३२५ मा सोमबार राति करिब ७ बजेतिर आगलागी हुँदा घरभित्र सुतिरहेका प्यारालाइसिसका बिरामी ६० वर्षीय देशमान राईको मृत्यु भएको हो ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र दमक नगरपालिकाबाट गएको दमकलको सहयोगमा अहिले आगलागी नियन्त्रणमा आइसकेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

चिकित्सा शिक्षा आयोगद्वारा स्नातकोत्तर तहको शुल्क निर्धारण

चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तहको शुल्क तोकेको छ । आयनेगले सामवार सूचना जारी गर्दै एमडी/एमएस क्लिनिकल र एमडीएस क्लिनिकल अध्ययन गर्न २२ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । यस्तै एमडी/एमएस बेसिक साइन्स (ननक्लिनिकल) र एमडीएस नन क्लिनिकल अध्ययन गर्न १० लाख ४८ हजार १ सय ३५ रुपैयाँ निर्धारण गरिएको छ ।

एमडी आयुर्वेद पढ्न ९ लाख २४ हजार ३ सय ६५, एमएन/एमएस्सी नर्सिङका लागि ८ लाख ८८ हजार २ सय ५०, एमपीएचका लागि पनि ८ लाख ८८ हजार २ सय ५० र एमफर्माका लागि ५ लाख १ हजार ६ सय रुपैयाँ तोकिएको छ । एमएस्सी एमएलटी, एमएस्सी एमआईटी, एमएस्सी मेडिकल माइक्रोबायोलोजीरबायोकेमेस्ट्री र एमएस्सी बेसिक साइन्स अध्ययन गर्न समान ७ लाख ३१ हजार ५०० रुपैयाँ शुल्क तोकिएको छ ।

एमफिल क्लिनिकल साइकोलोजीका लागि भने २ लाख ९३ हजार ६४५ रुपैयाँ तोकिएको चिकित्सा शिक्षा आयोगले जनाएको छ ।

शेयरबजार बढेको बढ्यै, २२ सय ६७ अंक नाघ्यो
केही दिनदेखि लगातार उकालो लागिरहेको नेपाली शेयरबजार मंगलबार २८ अंकले बढेको छ । चार दिनदेखि लगातार नयाँ रेकर्ड बनाउदै आएको नेप्से परिसूचक मंगलबार २२६७.७३ विन्दुमा पुगेको छ । यो अहिलेसम्मकै उच्च विन्दु हो ।

नेप्से गएका पाँच दिनमा १०२ अंकभन्दा बढीले उकालो लागेको छ । मंगलबार बीमा र जलविद्युत कम्पनीमा लगानीकर्ताको आकर्षण बढेको छ । यो दिन कारोबार भएका १२ उपसमूहमध्ये जलविद्युत उपसमूहको सूचक सबैभन्दा धेरै ३ दशमलव ६ प्रतिशतले बढेको छ भने जीवन बीमा र निर्जीवन बीमा उपसमूहको सूचक २ दशमलव ६ प्रतिशतले बढेका छन् ।व्यापार उपसमूह भने शुन्य दशमलव ६१ प्रतिशतले घटेको छ ।

मंगलबार २ सय २ वटा कम्पनीको ४ अर्ब ९८ करोड २३ लाख ९१ हजार ८९७ रुपैयाँ बराबरको शेयर कारोबार भएकोमा मंगलबार सबैभन्दा धेरै आइएमई जनरल इन्स्योरेन्सको शेयरमूल्य १० प्रतिशतले बढेको छ ।

कोरोनाका कारण मलावीमा दुई मन्त्रीको निधन
लिलोङ्वे । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण मलावीमा दुई मन्त्रीको निधन भएको छ ।

सरकारी अधिकारीहरुले उनीहरुको कोरोनाकै कारण मङ्गलबार बिहान निधन भएको पुष्टि गरेका छन् । उनीहरुका अनुसार यातायात तथा सार्वजनिक सेवा मन्त्री सिदिक मिया र स्थानीय सरकार मन्त्री लिङ्सन बेरेकान्यामको कोरोनाका कारण मृत्यु भएको हो । मृत्यु भएका दुवै मन्त्रीलाई अघिल्लो हप्ता कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि गरिएको थियो ।

फाइल फोटो।

पूर्वी अफ्रिकी मुलुक मलावीमा कोरोनाभाइरसका कारण यही जनवरीमा मात्रै अहिलेसम्म कम्तीमा ५० जनाको मृत्यु भइसकेको छ । एकै दिनमा सबैभन्दा बढी गत शनिबार १२ जनाको मृत्यु भएको थियो भने गत सोमबार १० जनाको मृत्यु भएको थियो ।

सोमबार एक दिन मात्रै देशभरी गरेर कूल ४५२ जना नयाँ सङ्क्रमित थपिएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । मलावीमा कोरोनाका कारण सोमबारसम्म २३५ जनाको मृत्यु भएको छ भने कूल दुई हजार ७४४ जना सङ्क्रमित अवस्थामा रहेका थिए ।

मलावी अफ्रिकाकै उच्च जोखिममा रहेका देशहरुको सूचीमा परेको छ । दक्षिण अफ्रिकाबाट आएकाहरु बढी सङ्क्रमित भएको पाइएको अधिकारीहरुले जनाएका छन् । एजेन्सी

प्रतिक्रिया