मकालु खबर दिनभर : यी हुन् आजका प्रमुख १० समाचार

६४ प्रतिशत मसँग छ, प्रतिनिधि सभा पुनर्स्थापना हुनै सक्दैन : प्रधानमन्त्री

|प्रधानमन्त्री केपी शर्मा ओली। तस्वीरः विकास अर्याल, मकालु खबर|

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा पुनर्स्थापना हुन नसक्ने बताएका छन् । आफूले संविधानको धारा ७६ को ७ मा टेकेर विघटन गरेको जिकिर गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।आइतबारबाटै अन्त्य हुन लागेको राष्ट्रिय सभाको हिउँदे अधिवेशनलाई सम्बोधन गर्दै ओलीले भने, ‘प्रतिनिधि सभाको पुनर्स्थापना हुन सक्दैन । संविधानअनुसार भएको काम हो यो । मैले धारा ७६ को ७ मा टेकेर विघटन गरेको हुँ ।’

यस्तै ओलीले प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिद्वारा विघटन भइसकेको सभा पुनर्स्थापना हुन नसक्ने बताए । ६४ प्रतिशत आफूसँग भएको बताउँदै ओलीले प्रतिनिधि सभा पुनर्स्थापना हुनुको यथार्थ कारण हुनुपर्ने पनि बताएका छन् । ‘६४ प्रतिशतको प्रतिनिधित्व गर्ने म हुँ । यसकै हैसियतले मैले प्रतिनिधि सभा विघटन गरेका हुँ ।’

यस्तै ओलीले भारतले मिचेको नेपाली भूमि अब नेपालले छिट्टै भोगचलन गर्न पाउने बताएका छन् । यसअघि आजै बिहान बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्यको लागि राष्ट्रिपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्य

|राष्ट्रिय सभा नेपाल। फाइल फोटो|

राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्य भएको छ । आइतबारको बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले पठाएको राष्ट्रिय सभाको हिउँदे अधिवेशन आइतबार राती १२ बजेदेखि अन्त्य गर्ने सम्बन्धि पत्र पढेर सुनाउँदै राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले अधिवेशन अन्त्य भएको जानकारी गराएका हुन् ।

यसअघि, विहान बसेको मन्त्रीपरिषद बैठकले आजै मध्यरातीदेखि लागू हुने गरि राष्ट्रिय सभाको अधिवेशन अन्त्य गर्ने राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको थियो । पुस १७ गते शुरु भएको हिउँदे अधिवेशनमा आजसम्म ४ वटा बैठक बसेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा विघटन गरेको १२ दिनपछि पुस १७ गते शुरु भएको थियो ।

प्रधानमन्त्रीलाई सांसदको प्रश्न ‘संविधानको घाँटी रेट्नेले निर्वाचन गराउँछ ?’

|राष्ट्रिय सभा सदस्यहरु बायाँबाट क्रमशः अनिता देवकोटा, प्रकाश स्नेही, प्रमिला कुमारी र रमेशजंग रायमाझी। फाइल फोटो|

राष्ट्रिय सभाका सांसदहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिनिधि सभा विघटन गरिएकोप्रति आपत्ति जनाउँदै प्रश्न गरेका छन् ।
आइतबारको बैठकमा सांसदहरु अनिता देवकोटा, प्रकाश पन्थ स्नेही, रमेशजँग रायमाझी र प्रमिला कुमारीले संसद विघटन असंवैधानिक भएकाले संसद पुनर्स्थापना हुनुपर्ने माग गरेका हुन् ।

सांसद देवकोटाले आफ्नो सरकार ढल्ने भएपछि संसद विघटन गर्ने प्रधानमन्त्रीले चुनाव गराउने विश्वास गर्न नसकिने बताइन् । ‘आफ्नो सत्ता यात्रा टुँगिंदै गर्दा संसदको घाँटी रेट्न पछि नपर्ने प्रधानमन्त्रीले कसरि चुनाव गराउँछ ?’ देबकोटाको प्रश्न थियो ।

उनले धनगढीमा प्रधानमन्त्री ओली गएको सभामा निर्मला पन्तका हत्यारा खोई लेखेको टिसर्ट लगाएका ब्यक्तिलाई पक्राउ गरेकोमा आपत्ति जनाउँदै संविधानको मौलिक हक अन्तर्गत धारा १७ पनि विघटन भएको हो रु भन्ने प्रश्न गरिन् ।

सांसद स्नेहीले अहिले चुनाबमा जाउँ भन्नु नहर भत्काएर रोपाईँ गर्न जा भनेजस्तो भएको टिप्पणी गरे । मृत्युपश्चात आँखा दान गर्ने घोषणा गरेको मानिसलाई यो त मर्ने नै रहेछ भनेर आँखा झिक्न नमिल्ने उनको भनाइ छ ।

देशभर थप ३६२ जनामा कोरोना पुष्टि, ६९९ जना संक्रमणमुक्त, ३ को मृत्यु

नेपालमा आज आइतबार थप ३६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको सख्या २ लाख ६४ं हजार ५ सय २१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यसैगरी आज ६९९ जना कोराना संक्रमित संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ५७ हजार ९२८ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

त्यस्तै आज कोरोना भाइरस संक्रमणबाट देशभर थप ३ जनाको मृत्यु भएको छ । यो संगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९१२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल ४ हजार ६ सय ८१ जना संक्रमितको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

शाहवंशीय राजाहरुले राजगद्दी त्याग्ने उच्च साहस र इमान्दारी दर्शाएका छन् : पूर्वराजा ज्ञानेन्द्र

पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रिय एकताका लागि शाहवंशीय राजाहरुले राजगद्दी त्याग्नेसम्मको उच्च साहस र इमान्दारी दर्शाएका बताए । पृथ्वीनारायण शाहको २९९ औँ जन्म जयन्तीको अवसरमा एक शुभकामना सन्देश दिँदै उनले भनेका छन्, “राष्ट्रियता, राष्ट्रिय एकता, राष्ट्रिय स्वाभिमान र राष्ट्रिय हितलाई केन्द्रमा राखेर अघि बढ्ने क्रममा देशको आवश्यकता र जनताको चाहना हुँदा शाहवंशीय राजाहरुले सक्रिय भूमिका मात्र निर्वाह गरेका छैनन्, संवैधानिक राजतन्त्रको मर्यादाअनुरुप व्यवहार भएको छ र राजगद्दी त्याग्ने सम्मको उच्च साहस र इमान्दारी पनि दर्शाएका छन्”शाहले भने ।

यस्तै उनले अहिलेको अवस्थामा देश कसरी जोगाउन सकिएला भन्ने चिन्ताग्रस्त अवस्थामा रहेको बताए । “नेपाली भनेका नेपाली नै हुन् । कुनै अर्को जलप लगाएर हुँदैन भन्ने अपार राष्ट्रभक्तिले ओतप्रोत भएर बडामहाराजाधिराजबाट नेपाल राष्ट्र निर्माणमा आफ्नो पूरै जीवन समर्पण गरिबक्सेको तथ्य स्मरण मात्र हुँदा पनि हामी सबै नेपाली गौरवान्वित हुने गर्दछौँ । यो समयमा हामी देश कसरी जोगाउन सकिएला भन्ने चिन्ताग्रस्त अवस्थामा छौँ” उनले भने । शाहले जनचाहनाअनुसार अघि बढ्नु शाहवंशीय राजपरम्पराका विशेषता भएको तथ्य कसैबाट नपिछेको पनि उल्लेख गरे ।

नक्कली भ्याट बील बनाई राजस्व छलेको आरोपमा १५ जना विरुद्ध मुद्दा
काठमाडौं । नक्कली भ्याट बील बनाई राजस्व छलेको आरोपमा राजस्व अनुसन्धान विभागले १५ जना विरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । विभागले उनीहरुसँग एक अर्ब ३४ करोड रुपैयाँ बिगो र कैद सजाय मागदाबी पनि गरेको छ ।

न्यू सयपत्री इन्टरप्राइजेज नाम फर्म खडा गरेर कर छलेको आरोपमा विभागले विवेक मगरसहित १३ वटा फर्मका सञ्चालकमाथि मुद्दा दायर गरेको छ । त्यसैगरी त्यो फर्मसँग कारोबार गर्ने मनिष कुमारसहित १५ जनामाथि एक अर्ब २२ करोड रुपैयाँ मागदाबी गरिएको विभागले जनाएको छ । उनीहरुले कमजोर आर्थिक अवस्था भएका मजदुर लगायतका व्यक्तिहरुलाई प्रयोग गरी विभिन्न फर्म स्थापना गरेका थिए । उनीहरुले ६ वर्षअघिदेखि यस्तो काम गरेको विभागको आरोप छ ।

त्यसैगरी अर्को संकित जनरल सप्लायर्सका सञ्चालक सुबोध साहमाथि विभागले १२ करोड ७५ लाख रुपैयाँ कर छलेको आरोपमा बिगो र जरिवाना मागदाबी गरेको छ ।

प्रहरी र गाँजा तस्करको समूहबीच गोली हानाहान, एक जना पक्राउ
बारामा प्रहरी र गाँजा तस्करको समूहबीच शनिबार राति गोली हानाहान भएको छ । तस्कर समूहलाई नियन्त्रणमा लिने क्रममा गस्तीमा हिँडेको प्रहरी टोली र तस्कर समूहबीच गोली हानाहान भएको हो । प्रहरीलाई लक्षित गरी गाँजा तस्करीमा संलग्न ८र१० जनाको समूहमा रहेका व्यक्तिले गोलि प्रहार गरेपछि प्रतिकारमा प्रहरीले ५ राउण्ड गोलि चलाएको बारा प्रहरीले जनाएको छ ।

शनिबार राति पौने १० बजे गाँजा तस्करी भइरहेको सूचनापछि इलाका प्रहरी कार्यालय निजगढ र अस्थायी प्रहरी पोष्ट रतनपुरबाट प्रहरी भक्तलाल खोलाको बगरमा पुगेको थियो । गोली हानाहानपछि प्रहरीले घटनास्थलबाट हेटौंडा उपमहानगरपालिका ६ का ४७ वर्षीय इमानसिंह तामाङलाई नियन्त्रणमा लिएको छ । साथै उनीहरूको साथबाट १०२ केजी गाँजा समेत बरामद भएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान जारी राखेको छ ।

नेप्सेको कीर्तिमान, नाघ्यो २२ सय ३५ बिन्दु
नेपाली सेयर कारोबारको मापक नेप्से परिसुचकले फेरि कीर्तिमान कायम गरेको छ । हप्ताको पहिलो दिन आईतबार सूचक ४१ दशमलव २४ अंकले बढेर २२ सय ३५ दशमलव ३५ बिन्दुमा पुगेको हो । जुन, अहिलेसम्मकै सबैभन्दा उच्च विन्दु हो ।

आइतबार, २०७ कम्पनीको ६ अर्ब ३२ करोड ६६ लाख ४६ हजार ८०६ रुपैयाँको सेयर किनबेच भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । आइतबार, बैैंकिङ समूह ५९ दशमलव ६१, विकास बैंक ८८ दशमलव ४५, निर्जीवन बीमा ३९ दशमलव ०८, उत्पादन तथा प्रशोधन २५ दशमलव ९७, माइक्रोफाइनान्स २१ दशमलव ८ अंकले बढेको छ । सवै परिसूचक उकालो लागेको दिन जीवन बीमा समूहको उपसूचक भने १७ दशलव १६ अंकले घटेको छ ।

आइतबार ६ कम्पनीका लगानीकर्ताले करिब १० प्रतिशतले कमाएका छन्। प्रभु लाइफ इन्स्योरेन्स, नारायणी विकास बैंक, आरम्भ चौतारी लघुवित्त, कुमारी बैंक, युनाइटेड फाइनान्स र कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य करिब १० प्रतिशतले बढेको छ।
आइतबार, सबैभन्दा बढी प्रभु बैंकको ४० करोड २९ लाख ९१ हजार ९८ रुपैयाँको सेयर किनबेच भएको छ ।

पिएसजी विजयी, ब्रेस्ट ३–० ले पराजित

फ्रेन्च लिग वान फुटबल अन्तर्गत भएको खेलमा पेरिस सेन्ट–जर्मेन (पिएसजी) ले पहिलो जित निकालेको छ । शनिबार रातिको खेलमा ब्रेस्टलाई ३–० ले पराजित गर्दै पिएसजीले जित निकालेको हो । पिएसजीका लागि मौसा केन, माउरो आइकार्डी तथा साराबियाले एकरएक गोल गरे । जितपछि पिएसजी दोस्रो स्थानमा छ । उसले १९ खेलबाट ३९ अंक जोडेको छ । पराजित ब्रेस्ट २६ अंकसहित ११औं स्थानमा छ ।

इन्डोनेशिया बोइङ्ग ७३७ दुर्घटना : विमानका अवशेष भेटिए, ६२ यात्रु बेपत्ता

इन्डोनेशियामा ६२ जना सवार श्रीविजाया एअरको बोइङ्ग ७३७ विमान दुर्घटनाका अवशेषहरू फेला परेका छन् । विमानमा १२ बालबालिकासहित ५० यात्रु र चालक दलका १२ सदस्य रहेका थिए ।

राजधानी जकार्ताबाट पोन्तिएनाकका लागि उडान भरेको केही बेरमै दुर्घटनामा परेको विमान उडेको चार मिनेटपछि राडारबाट हराएको थियो । शनिबार राति दुर्घटनामा परेको विमानका अवशेषहरू आइतबार बिहान जकार्ता नजिकको आइल्याण्ड आसपासमा फेला परेको छ । उक्त विमान शनिबार स्थानीय समय दिउँसो जकार्ता एयरपोर्टबाट उडेको थियो । यातायात मन्त्रालयका अनुसार विमानसँग अन्तिम सम्पर्क २ः४० मा भएको थियो ।

नेशनल सर्च एण्ड रेस्क्यु एजेन्सीका प्रमुख एयर मार्शल बगस पुरुहितोका अनुसार, विमानले कुनै समस्याको संकेत पठाएन। उडान ट्र्याकिंग वेबसाइटका अनुसार, विमान एक मिनेट भन्दा कममा १०,००० फिट खसेको अनुमान छ । प्रत्यक्षदर्शीहरूले पनि विस्फोट सुनेको बताएका छन् । एक माछावालले भनेका छन् कि उनले दुर्घटना देखे र किनारमा फर्कने निर्णय गरे । उनले भने, ‘हवाईजहाज बिजुली जस्तैगरी समुद्रमा खस्यो र पानीमा विस्फोट भयो । यो दुर्घटना हाम्रै नजिक थियो ।’

प्रतिक्रिया