मकालु खबर दिनभर : यी हुन् आजका १० प्रमुख समाचार

प्रधानमन्त्रीले राजीनामा दिएर पार्टी एकता जोगाउनुपर्थ्यो

|राष्ट्रिय सभा सदस्य बामदेव गौतम। तस्वीरः राष्ट्रिय सभा वेब|

नेकपाका नेता तथा राष्ट्रिय सभा सदस्य वामदेव गौतमले आफ्नै पार्टीभित्र अल्पमतमा परेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने बताएका छन् ।

राष्ट्रियसभामा आफ्नो पहिलो मन्तब्य राख्दै नेता गौतमले पार्टीभित्रै अल्पमतमा परेपछि राजीनामा दिएर पार्टी विभाजन रोक्ने अन्तिम अवसर भएपनि प्रधानमन्त्री ओली त्यसबाट चुकेको बताएका हुन् ।

प्रधानमन्त्रीले राजीनामा दिएको भए पार्टी विभाजनबाट जोगिने, सरकार र पार्टीको सम्बन्ध राम्रो हुनुका साथै कम्युनिष्ट आन्दोलनमा लागेकाहरुका लागि आत्मबल तथा पार्टी र सरकारको सम्बन्ध राम्रो बनाउन चाहनेलाई शिक्षा हुनेमा तर त्यसो हुन नसकेको गौतमको भनाइ छ ।

‘संसद् विघटनबारे अहिल्यै मैले बोल्न मिल्दै मिल्दैन’

|सुवासचन्द नेम्वाङ्ग। तस्वीरः फाइल|

संविधानसभाका अध्यक्ष तथा नेकपा नेता सुवाचन्द नेम्वाङ्गले प्रतिनिधि सभा विघटनबारे अहिल्यै कुनै टिप्पणी नगर्ने बताएका छन् ।

मकालु खबरको जिज्ञासामा नेम्वाङ्गले अदालतमा विचाराधीन विषयमा आफूलाई मात्रै नभएर कसैलाई पनि टिकाटिप्पणी गर्ने अधिकार नभएको बताउँदै अहिल्यै प्रतिनिधि सभा विघटनको बारेमा आफू नबोल्ने बताएका हुन् । ‘यसको बारेमा सर्वोच्च अदालतले फैसला गरेको भोलिपल्ट मात्रै म बोल्छु’, नेम्वाङ्गले भने, ‘अहिले यो विचाराधीन छ ।’

नेम्वाङ्गले सर्वोच्चको फैसलालाई सबैले मान्नुपर्ने समेत बताए । उनले भनेका छन्, ‘सर्वोच्चले जे फैसला गर्छ, हामी सबैले त्यसलाई सहर्ष स्वीकार्नुपर्छ ।’

सर्वोच्चले सही निर्णय लिनेबारे आफू विश्वस्त रहेको बताएका नेम्वाङ्गले थप भनेका छन्, ‘मेरो टिप्पणी यत्ति हो । मलाई सर्वोच्चमाथि मलाई विश्वास छ । जसलाई सबैले स्वीकार गर्नुपर्छ ।’

भीम रावललाई कारबाही गर्न ओली समूहको सिफारिस

|नेकपा नेता भीम रावल। तस्वीरः गूगल|

नेकपा ओली समूह सुदूरपश्चिम कमिटीले भीम रावललाई कारबाही गर्न पार्टी केन्द्रलाई सिफारिस गरेको छ । प्रदेश इन्चार्ज लेखराज भट्टले दिएको जानकारीअनुसार रावललाई आर्थिक हिनामिनामा कारबाहीको लागि सिफारिस गरेको हो ।

उनले भनेका छन्, ‘उहाँ (रावल) लाई हामीले कारबाही गर्न मिल्दैन, त्यसैकारण पार्टी केन्द्रलाई सिफारिस गरिएको हो’ भट्टले भने । नेकपा विभाजन नहुँदासम्म रावल नेकपाको प्रदेश इन्चार्ज थिए ।

विभाजन पश्चात् ओली समूहले लेखराज भट्टलाई इन्चार्ज बनाएको थियो । नेपाल दाहाल समूहले भने आधिकारिक नेकपा आफूहरु भएको बताउँदै आएको छ।

प्रमले ‘देखिस् त संसद् विघटन कसरी हुँदोरहेछ ?’ भन्ने शैलीमा संसद् विघटन गर्नुभो

|संविधानसभाका सदस्य रामनारायण बिडारी। फाइल फोटो|

राष्ट्रिय सभा सदस्य रामनारायण बिडारीले प्रधानमन्त्री केपी शर्मा ओलीले साथीलाई ‘देखिस् त कसरी संसद् भङ्ग हुँदारहेछ रु’ भन्ने शैलीमा प्रतिनिधिसभा विघटन गरेको टिप्पणी गरेका छन् ।

राष्ट्रिय सभाको बिहीबारको बैठकमा समय लिएर बोलेका बिडारीले आफैँले हस्ताक्षर गरेको संविधानलाई ओलीले जुङ्गा मुसासेर ‘देखिस् त कसरी संसद् भङ्ग हुँदारहेछ ?’ भन्ने शैलीमा संसद् विघटन गरिएको टिप्पणी गरेका हुन् ।

संविधान लेख्दा भएको बहसको ‘टेप रेकर्ड’ राष्ट्रिय सभामा बजाउन अनुरोध गरेका बिडारीले प्रधानमन्त्रीको सनकले संसद् विघटन हुन नहुने तर्क राखे । उनले भने, ‘संविधान लेख्दाको टेप रेकर्ड यहाँ बजाऔं । त्यसपछि हामीले कति नालायक काम गरेछौँ भनेर सम्बन्धित मान्छेलाई थाहा होस् ।’

कोरोना अपडेट : ४१२ जना संक्रमित, ४८३ डिस्चार्ज, थप ४ को मृत्यु
पछिल्लो २४ घण्टामा थप ४१२ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । थप अपडेटसँगै कोरोना संक्रमितको कुल संख्या २ लाख ६३ हजार ६०५ पुगेको छ ।

यस्तै आज (बिहीबार) ४८३ कोरोना संक्रमित निको भएका छन् । हालसम्म २ लाख ५६ हजार ६४४ जना निको भइसकेका छन् ।

गत २४ घण्टामा थप ४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मृतक संख्या १ हजार ९०३ पुगेको छ । आज क्वारेन्टिनमा ३४२ जना छन् भने सक्रिय संक्रमित संख्या ५ हजार ५८ रहेको छ ।

त्रिविका आंशिक प्राध्यापक तीनहप्ता देखि धर्नामा
समान कामको समान पारिश्रमिक पाउनुपर्ने माग गर्दै त्रिभुवन विश्वविद्यालयका आंशिक प्राध्यापकको तीन हप्तादेखिको धर्ना जारी छ ।

विभिन्न चरणका आन्दोलन गर्दै पुस २ गतेदेखि त्रिविका उपकुलपतिको कार्यालय अगाडी दिनहुँ धर्ना दिइरहेको र माग पूरा नभएसम्म जारी रहने आन्दोलन परिचालन समितिका संयोजक शशिकुमार शर्माले जानकारी दिए ।

६० प्रतिशत कक्षा भार लिइरहेका आंशिक प्राध्यापकलाई अत्यन्तै कम पारिश्रमिक दिएर त्रिविले वर्षौदेखि शोषण गरिरहेकाले समान कामको समान ज्याला नभएसम्म आन्दोलन नटुंगिने बरु थप कार्यक्रम घोषणा गर्ने तयारी भइरहेको संयोजक शर्माको भनाइ छ ।

त्रिविका सहकुलपति तथा शिक्षामन्त्रीसँग तथा त्रिविले गठन गरेको वार्ता समितिसँग धेरै चरणमा बार्ता भएको तर कुनै सहमति भने भइनसकेको वार्ता टोलीका नारायण कोइरालाले जानकारी दिए ।

संसद पुनर्स्थापनाले समस्या समाधान हुँदैन : राजेन्द्र महतो
जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले संसद पुनर्स्थापना गरेर अहिलेको समस्या समाधान नहुने बताएका छन् । संसद पुनर्स्थापना वा चुनाव जे भएपनि फेरि प्रतिगमन हुने तर्क गर्दै समस्याको स्थायी समाधान खोज्नुपर्ने बताए । संसद पुनर्स्थापना र मध्यावधि चुनाव दुवै सम्भ्रान्तहरूको स्वार्थ रक्षाको एजेन्डा भएको बताए । यस्तै उनले देशमा संसद पुनर्स्थापना गरेर फेरि चुनावमा जाँदा अर्को पात्रले प्रतिगमन गर्ने ठोकुवा गरे । अहिलेको संविधान सबै जनताको नभएकाले समस्या आएको महतोको तर्क छ ।

किस्ताबन्दीमा संसद पुनर्स्थापनाको कुरा गरेर अलमलाउने गतिविधि भइरहेको पनि उनले बताए । उनले पटक–पटक बहुलराष्ट्रिय राज्य स्थापनामा जानैपर्ने बताए । बहुलतामा नगएसम्म प्रतिगमन भइरहने र गोलचक्करमा देश फसिरहने उनको भनाइ छ । आफूहरु बहुराष्ट्रिय राज्य स्थापना गरेरै छाड्ने अभियानमा रहेको पनि उनले बताए । राणा, राजा हुँदै अहिले बनेको संविधानमा पनि स्वार्थ रक्षा नभएपछि प्रतिगमन गरिएको उनको आरोप छ ।

प्रधानमन्त्री ओलीलाई श्री ५ महाराजाधिराज केपी ओली भन्दै चोरमाथि चकार गरेको आरोप लगाए । सरकारले चुनाव गर्न सक्छ ? भन्ने प्रश्नमा उनले चुनावले समस्याको समाधान गर्न नसक्ने बताए ।

२२ सय ४ बिन्दु नाघेर केही घटेपनि नेप्से अहिलेसम्मकै उच्च बिन्दुमा

|सांकेतिक तस्वीर। फाइल फोटो|

सेयर बजार कारोबार मापन नेप्से परिसूचक अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ । कारोबार हुने हप्ताको अन्तिम दिन विहीबार नेप्से परिसूचक १५ दशमलव ९१ अंकले बढेर २१ सय ९४ दशमलव ४९ अंकमा पुगेको हो । यो नेप्सेले कायम गरेको अहिलेसम्मकै उच्च विन्दु हो ।

विहीबार कारोबार रकमसमेत बढेको छ । ५ अर्ब ८७ करोड ४७ लाख ८ हजार २७९ रुपैयाँको कारोबार भएको यस दिन निर्जीवन बीमा समूह सर्वाधिक १ सय ४४ दशमलव ८६ अंकले बढेको छ । १२ मध्ये ११ वटा समूहमा हरियाली छाएकोमा उत्पादन समूह १ सय १५ दशमलव ८३, व्यापार समूह १ सय १२ दशमलव ६१, लघुवित्त समूह ४६ दशमलव ५३, जीवन बीमा समूह ३८ दशमलव ८५ र बैंकिङ समूह १३ दशमलव ०४ अंकले बढेको छ ।

नेप्से परिसूचकले एक समय २२ सय ४ बिन्दु नाघेपनि त्यसपछी केही घटेर बजार बन्द हुँदा २१ सय ९४ दशमलव ४९ अंकमा कायम भएको हो ।

बार्सिलोनाको जितमा मेस्सी ‘नायक’

|लिओनल मेस्सी। तस्वीरः फाइल|

कप्तान लियोनेल मेस्सीको दुई तथा पेड्रीको एक गोल मद्दतमा क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा एथलेटिको बिल्वाओमाथि रोमाञ्चक जित निकालेको छ । बार्सिलोनाले एक गोलले पछि परेको अवस्थामा घरेलु टोली ब्लिाओमाथि ३–२ को रोमाञ्चक जित निकालेको हो । इनाकी विलियम्स र यकर मुनिएइनको गोल सान्त्वना बन्यो ।

बिल्वाओमा शनिबार राति भएको खेलमा घरेलु टोलीले खेलको तेस्रो मिनेटमा नै राहुल गार्सियाको पासमा इनाकी विलियम्सको गोलबाट अग्रता लिएको थियो । तर, बिल्वाओको त्यो अग्रता लामो समय टिकेन । १४औं मिनेटमा पेड्रीले फ्रान्की डि जोङको पासमा गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए । ३८औं मिनेटमा कप्तान मेस्सीले गोल गर्दै बार्सिलोनालाई २–१ ले अघि बढाए । उनले पेड्रीको पासमा गोल गरेका थिए । ६२औं मिनेटमा मेस्सीले एन्टोइन ग्रिजमनको पासमा व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई सहज जिततर्फ अघि बढाए ।

इन्ज्युरी समयमा इकर मुनिएइनले गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्कने संकेत दिएपनि त्यो निकै ढिला हुदा बार्सिलोना विजयी हुन सफल भयो । यो जितसँगै बार्सिलोना १७ खेलबाट ३१ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ ।

वाशिङ्टनमा थप १५ दिनसम्म आपत्‌काल घोषणा
अमेरिकामा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले हिंसात्मक गतिविधि गरेपछि वाशिङ्टन राज्यका मेयरले थप १५ दिनका लागि सार्वजनिक आपत्‌काल घोषणा गरेका छन् ।

धेरै मानिसहरू हतियारसहित हिंसात्मक गतिविधिमा संलग्न हुने क्रम जारी रहेको भन्दै मेयर म्युरिअल बोसरले सार्वजनिक आपत्‌काल घोषणा गरेका हुन् । उनले भनेका छन् – ‘हिंसात्मक गतिविधिमा संलग्न हुनेहरूको संख्या बढ्दो छ । उनीहरूले केमिकलदेखि इँटा, बन्धुकहरू फालिरहेका छन् । उनीहरू हिंसा अझै जारी राख्न चाहन्छन् ।’ अहिले त्यहाँ आम नागरिकको सुरक्षालाई मध्येनजर गर्दै हिंसात्मक गतिविधि कम गर्न कर्फ्यू लगाइएको छ । कर्फ्यू स्थानीय समयानुसार बुधबार साँझ ६ बजेदेखि बिहीबार बिहानसम्म लागू गरिएको छ ।

अहिले त्यहाँ थप सुरक्षाकर्मी परिचालित गर्ने तयारी छ । आपत्‌काल घोषणा भएसँगै आगामी जनवरी २१ तारिखसम्म यसलाई जारी राखिनेछ । २० तारिखमा ट्रम्प ह्वाइट हाउस प्रवेश गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया