मकालु खबर दिनभर : यी हुन् आजका १० प्रमुख समाचार

संसद विघटनविरुद्ध बृहत् पूर्ण इजलासमा सुनवाई हुनुपर्ने मागसहित सर्वोच्चमा निवेदन पेश
संसद विघटनविरुद्धको मुद्दा बृहत् इजलासले सुनुवाई गर्नुपर्ने भन्दै १२ जनाले सर्वोच्च अदालतमा संयुक्त निवेदन दिएका छन् । अधिवक्ता कञ्चनकृष्ण न्यौपाने, देव गुरुङ, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलगायत १२ जनाले रिटको सुनुवाई बृहत् पूर्ण इजलासबाट होस् भन्दै निवेदन दिएका हुन् ।

उनीहरुले पुस ८ गते संसद विघटनविरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए । उनीहरुले संयुक्त रुपमा संवैधानिक इजलासमा विचाराधीन मुद्दा बृहत् पूर्ण इजलासमा सुनुवाइको माग गर्दै रिट महाशाखामा निवेदन पेश गरेका छन्। अधिवक्ता न्यौपाने आफूहरुले निवेदन शाखाका प्रमुख बाबुराम दाहाललाई बुझाएको र भोलि संवैधानिक इजलासमा निवेदन पेस गर्ने जवाफ पाएको बताएका छन् ।

प्रदेश २ मा ‘दाहाल–नेपाल’ समूहले हटायो ‘ओली’ पक्षका मण्डललाई, महतो चयन
प्रदेश २ मा (दाहाल–नेपाल) समूहले ओली पक्षका नेकपा संसदीय दलका नेता सत्यनारायण मण्डललाई हटाएर शत्रुघन महतोलाई चयन गरेको छ । मंगलबार जनकपुरमा बसेको संसदीय दलको बैठकले मण्डललाई हटाएर महतोलाई चयन गरेको हो ।

मण्डल नेकपा (ओली) र महतो नेकपा (दाहाल–नेपाल) पक्षका प्रदेश सांसद हुन् । प्रदेशसभामा नेकपाका ३२ सदस्यमध्ये १९ जनाले मण्डलविरूद्ध अविश्वास प्रस्तावमार्फत् संसदीय दलका नेताबाट हटाएका हुन् ।

संसदी दलमा नयाँ नेता चयनका लागि निर्वाचनका कार्यक्रम तय गरिएको थियो । मंगलबार दिउँसो २ बजेसम्म मनोनयन दर्ता र २ः४५ बजे उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गर्ने समय निर्धारण गरिएको थियो । जसअनुसार महतोकोमात्रै एकल उम्मेदवारी परेपछि उनी निर्विरोध दलको नेतामा चयन भएका हुन् ।

मतदान स्थल तथा मतदान केन्द्र निर्धारण कार्य सुरु गर्दै आयोग
निर्वाचन आयोगले बिहीबारदेखि मध्यावधि चुनावका लागि मतदान स्थल तथा मतदान केन्द्र निर्धारण कार्य सुरु गर्ने भएको छ । सरकारले वैशाख १७ र २७ मा मध्यावधि निर्वाचन घोषणा गरेसँगै आफ्नो तयारी सुरु गर्ने भएको हो ।

आयोगले अन्तिम मतदाता नामावली तयारी थालेको छ । मतदाता नामावलीसँगै मतदान स्थल तथा मतदान केन्द्र निर्धारणसम्बन्धी काम पनि गर्नुपर्ने भन्दै आयोगले “मतदान स्थल तथा मतदान केन्द्र निर्धारण कार्यविधि, २०७७” र “मतदान स्थल तथा मतदान केन्द्र पुनरावलोकन सम्बन्धी कार्यक्रम, २०७७” स्वीकृत गरेको छ ।

पुस २३ देखि जिल्लास्तरमा मतदान स्थल तथा मतदान केन्द्र निर्धारण सम्बन्धी कार्य प्रारम्भ हुने आयोगले जनाएको छ । यसका लागि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समिति रहेको छ ।

मतदान स्थल तथा मतदान केन्द्र निर्धारण माघ १७ गतेभित्र सक्ने आयोगको कार्यतालिका छ ।

संसद विघटनविरुद्ध परेको रिटमा बुधबारदेखि सर्वोच्च अदालतमा निरन्तर सुनुवाइ हुने छ ।

कोरोना अपडेट : ५ सय २२ जनामा पुष्टि, ८ को मृत्यु
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६२ हजार ७८४ पुगेको छ।  गत २४ घन्टामा ४ हजार ५ सय ५१ पीसीआर परीक्षण गरिएकोमा ५ सय २२ जनामा संक्रमण देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार ५७८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ५५ हजार ६६६ पुगेको छ।

यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ८ सय ९३ पुगेको छ। हाल देशभर ५ हजार २ सय २५ जना सक्रिय संक्रमित रहेका छन्।

सांसद विडारीद्वारा संवैधानिक परिषदसम्वन्धी अध्यादेश अस्वीकार गर्ने प्रस्ताव दर्ता

|राष्ट्रिय सभा सदस्य रामनारायण बिडारी। तस्वीरः फाइल|

राष्ट्रिय सभा सांसद रामनारायण विडारीले संवैधानिक परिषदसम्बन्धी अध्यादेश अस्वीकार गर्न राष्ट्रिय सभामा प्रस्ताव दर्ता गराएका छन् । विडारीले आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले मंसिर २९ गते जारी गरेको संवैधानिक परिषद् ९काम, कर्तव्य, अधिकार र कार्यविधि० सम्बन्धी अध्यादेश अस्वीकार गर्न प्रस्ताव दर्ता गराएका हुन् ।

राष्ट्रिय सभाको हिउँदे अधिवेशन गत शुक्रबारदेखि सुरू भइसकेको छ । शुक्रबारको बैठकमा सरकारले उक्त अध्यायदेश पेस गरेको थियो । अध्यादेशमा संवैधानिक परिषदले अध्यक्षसहित तीन जनाको बैठक बसेर निर्णय गर्ने सक्ने व्यवस्था गरिएको थियो। यसअघि ६ सदस्यीय परिषदको बहुमतले निर्णय गर्नुपर्ने व्यवस्था थियो ।

प्रधानमन्त्रीको पुत्ला दहनदेखि मन्त्रीलाई कालोझण्डा देखाउनेसम्मका कार्यक्रम तय
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) ले संसद विघटनविरुद्ध दोस्रो चरणको संघर्षका कार्यक्रम घोषणा गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरीअलोकतान्त्रिक र प्रतिगमनकारी कदम चालेको भन्दै अनेरास्ववियूले दोस्रो चरणको संघर्षका कार्यक्रम घोषणा गरेको हो । अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङद्वारा मंगलबार जारी विज्ञप्तिमा भनिएको छ – ‘असंवैधानिक रूपमा विघटन गरिएको प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै प्रतिगमनकारी कदम नसच्याउँदासम्म हाम्रो संघर्ष अझ सशक्त रूपमा अघि बढ्नेछ ।’

संघर्षका कार्यक्रम अन्तर्गत आज (मंगलबार) ओली सरकारका मन्त्रीहरुलाई कालो झण्डा देखाउने कार्यक्रम रहेको छ । त्यस्तै आजै प्रत्येक कलेजमा कालो ब्यानर राखी विरोध प्रदर्शन र कोणसभा गर्नेछ । यस्तै मंसिर २२ गते उपत्यकामा लाल्टिन जुलुस र उपत्यका बाहिर आवश्यकता अनुसार लाल्टिनरसिठीरलाठी जुलुस गरिने, २३ गते देशव्यापी रूपमा प्रधानमन्त्रीको पुत्ला दहन गर्ने कार्यक्रम तोकिएको छ ।

पुस २९ गतेसम्म बयलगाडा प्रदर्शनदेखि सडक नाटकसम्मका कार्यक्रम समेत तोकिएका छन् ।

गण्डकी प्रदेशको विशेष अधिवेशन आजदेखि सुरू
गण्डकी प्रदेश सभाको विशेष अधिवेशन आजदेखि सुरू भएको छ । विपक्षी दलहरूले माग गरेपछि पहिलोपटक प्रदेश सभाको विशेष अधिवेशन बोलाइएको हो ।

गण्डकी प्रदेशसभामा कूल ६० सांसदहरुमध्ये सभामुखबाहेक नेकपाका ३९ जना छन् भने नेपाली कांग्रेसका १५, जनमोर्चाका ३ र जसपाका २ सदस्य रहेका छन् ।

संविधानको धारा १८३ को उपधारा ३ मा प्रदेशसभाको सम्पूर्ण सदस्य संख्याको एकचौथाइ सदस्यले लिखित अनुरोध गरेमा विशेष अधिवेशन बोलाउनुपर्ने व्यवस्था छ ।

त्यसैअनुरूप कांग्रेसका १५ र जसपाका दुई सदस्यले ३० मंसिरमा निवेदन दिएका थिए ।

म्यानचेस्टर काभानीमाथिको प्रतिबन्ध खारेज गर्न माग
म्यानचेस्टर युनाइटेडका ३३ वर्षीय एडिन्सन काभानीमाथि लागेको तीन खेलको प्रतिबन्ध फिर्ता लिन माग गरिएको छ । उरुग्वेको खेलाडी युनियनले काभानीमाथि लागेको प्रतिबन्ध हटाउन माग गरेको हो ।

बेलायतको फुटबल एसोसिएशनले काभानीमाथि तीन खेलको प्रतिबन्ध लगाएको छ । काभानीले सामाजिक सञ्जालमा केही अवस्थामा अपमानजनक अर्थ लाग्ने स्पेनिस ‘फ्रेज’ पोस्ट गरेका कारण उनीमाथि तीन खेलको प्रतिबन्ध लगाइएको एसोसिएशन भनाइ छ । उनले एक लाख पाउण्ड जरिवाना समेत तिर्नुपर्ने छ ।

गएको नोभेम्बर २९ मा साउथह्याम्पटनमाथि विजयी गोल गरेपछि सामाजिक सञ्जालमा काभानीले एक पोस्ट गरेका थिए । यद्यपी उनले माफी समेत मागेर पोस्ट डिलेट गरिसकेका छन् । उनले माफी मागिसकेको अवस्थामा प्रतिबन्ध लगाउने निर्णयमाथि पनि पुनरावलोकन गर्नुपर्ने उरुग्वेको खेलाडी युनियनले बताएको छ ।

इंग्ल्याण्डमा फेरि लकडाउन, स्कुल र कलेज बन्द

इंग्ल्याण्डमा फेरि लकडाउन गरिएको छ । कोरोना भाइरस(कोभिड १९) संक्रमणको नयाँ लहर तीव्र रूपमा फैलँदै गएपछि इंग्ल्याण्ड सरकारले पुनः लकडाउन गरेको हो ।

त्यहाँका प्रधानमन्त्री बोरिस जोन्सनका अनुसार नयाँ लकडाउन आउँदो फेब्रुअरीको मध्यसम्म कायम रहन सक्नेछ । कोरोना संक्रमणको दर बढेको यो अवस्थामा आउँदो हप्ताहरु निकै कठिन हुने उनले बताएका छन् ।

लकडाउन भएसँगै त्यहाँका स्कुल तथा कलेज मंगलबारदेखि बन्द भएका छन् । अनलाइन कक्षा मार्फत् विद्यार्थीको अध्ययन जारी राखिएको छ । स्वीकृति प्राप्त नागरिकहरू मात्रै घर बाहिर निस्कन पाउनेछन् ।

प्रतिक्रिया