‘राजावादीहरू सडकमा आउनुमा भारतको हात छ’

काठमाडौं । नेकपा मसालका महामन्त्री मोहन विक्रम सिंहले सत्तारूढ नेकपा फुटको असर नेकपालाई मात्रै नभएर सिंगो देशलाई पर्ने टिप्पणी परेका छन् । नेकपालाई फुटबाट बचाउनको लागि आफूहरुले धेरै पहल र जोड दिएको भएपनि उक्त प्रयास सफल हुन नसकेको उनको भनाइ छ ।

आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै महामन्त्री सिंहले नेकपा फुटको पछाडि राजनीतिक वा संवैधानिक कारण नभएर नेताहरुबीचको अन्तरकलह नै मुख्य कारण रहेको दाबी गरे ।

यस्तै उनले पछिल्लो समय राजावादीहरु पुनः सलबलाएको र उनीहरुको चलखेल सुरु भएको भन्दै गणतन्त्र/धर्मनिरपेक्षता र संघीयता पक्षधर शक्तिहरुबीच बलियो एकता आवश्यक रहेको औँल्याए । नेपालमा धेरै अन्तरकलह र राजनीतिक अस्थिरता सिर्जना गर्न विदेशी शक्तिहरु उद्धत रहेको पनि उनको भनाइ छ । ‘जसरी भारतीय गुप्तचर संस्था रअका प्रमुख गोयलले नेपालमा रहस्यमयी भ्रमण गरे, यो आपत्तिजनक छ,’ उनले भने, ‘भारत नेपाललाई हिन्दूराष्ट्र बनाउन चाहन्छ । राजसंस्था ल्याउन चाहन्छ  । अमेरिकाको पनि आफ्नै स्वार्थ छ । नेकपा फुटपछि चीनको पनि भूमिका बढेको देखिएकाे छ ।’

उनले नेपालमा अहिले भइरहेकाे राजावादीहरुको आन्दोलनमा वाह्य शक्तिको हात रहेको टिप्पणी समेत गरे । उनले भने, ‘राजावादीहरु आफ्नो शक्तिमा सडकमा आएका हाेइनन् । यसमा भारतको हात छ । भारतीय सत्तारूढ शक्ति नेपाललाई हिन्दूराष्ट्र बनाएर आफ्नो देशमा पनि प्रभाव पार्न चाहन्छ ।’

उनले नेकपा फुटको प्रमुख कारण वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नै भएको समेत दाबी गरे । आफूलाई ‘काम गर्न दिइएन’ भन्ने प्रधानमन्त्री ओलीको दाबीमा कुनै सत्यता नभएको उनकाे जिकिर छ ।

प्रतिक्रिया