संसद विघटन स्थायित्वका लागि : बादल

काठमाडाैं । गृहमन्त्री रामबहादुर थापा बादलले संसद विघटन अग्रगामी कदम भएको बताएका छन् । अब संसद पुनर्स्थापना नहुने दाबी गर्दै उनले मध्यावधि निर्वाचनमा जानु नै उचित हुने बताए ।
ललितपुर महानगरपालिकास्तरीय बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री थापाले भने, ‘सरकारले संसद विघटन गर्नु संवैधानिक हाे कि असंवैधानिक? याे प्रतिगमनकारी कदम हाे कि अग्रगामी कदम ? भन्ने अहिले ठुलाे बहस छ । हाम्राे नजरमा याे अग्रगामी कदम हाे । याे ठुलाे राजनीतिक कदम हाे । देशमा स्थायित्व कायम गर्नका निम्ति याे अपरिहार्य थियाे ।’
‘हामी फुटकाे पक्षमा हाेइन, एकताकाे पक्षमा उभिएका छाैँ, नयाँ संसद स्थापना गरेर स्थायित्व ल्याउने पक्षमा उभिएका छाैँ’, मन्त्री थापाले भने, ‘हामी अस्थिरता र गुटकाे प्रतिवादकाे निम्ति यहाँ लामबद्ध भएका छौँ ।’
मन्त्री थापाले निर्वाचनकाे तयारीमा जुट्न पनि नेता कार्यकर्तालाई आह्वान गरे । नयाँ संसद आएपछि फेरि स्थायित्व प्राप्त गर्न सकिने उनको भनाइ छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते संसद विघटन गरेपछि अहिले नेकपा दुई समूहमा विभाजन भएको छ । ओली र नेपाल-दाहाल दुवै समूह एक अर्काकाे विराेध र प्रतिवादमा उत्रिरहेका छन् । असंवैधानिक कदम चालेकाे भन्दै प्रतिपक्षी दलसँगै सत्तापक्षकै केही नेता र कार्यकर्ताले ओलीविरुद्ध प्रदर्शन जारी राखेका छन् ।








