राष्ट्रिय सभाका एक सांसदसहित ६ जनामा काेराेना संक्रमण पुष्टि

काठमाडौँ । संघीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभाका सांसदसहित केही कर्मचारीमा काेराेना भाइरस (काेभिड १९) संक्रमण पुष्टि भएकाे छ ।

आज (शुक्रबार) देखि राष्ट्रिय सभाकाे हिउँदे अधिवेशन सुरू हुँदैछ । यसका लागि बिहीबार ४१ सांसदसहित ९७ जनाको स्वाब परिक्षण गरिएकाेमा एक सांसद र ५ जना कर्मचारीकाे रिपाेर्ट पाेजेटिभ आएकाे संसद सचिवालयले जनाएकाे छ । सचिवालयका अनुसार संक्रमित सांसद तथा कर्मचारीहरू सभामा उपस्थित हुने छैनन् ।

राष्ट्रिय सभाको अधिवेशन आज साँझ ४ बजेदेखि सुरु हुँदैछ । संवैधानिक व्यवस्थाअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त अधिवेशन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा अपराह्न ४ बजे बस्ने गरी आह्वान गरेकी हुन् ।

बैठकको सुरुमै राष्ट्रपतिले अधिवेशन आह्वान गरेको पत्र पढेर सुनाइनेछ । त्यसपछि अधिवेशनको पहिलो बैठक भएकाले राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दलहरुकोतर्फबाट दलका नेताहरुको अधिवेशन उद्घाटन मन्तव्य राख्ने कार्यसूची छ । राष्ट्रियसभामा नेकपा, नेपाली कांग्रेस र जनता समाजवादी पार्टीको प्रतिनिधित्व छ ।

प्रतिक्रिया