नेकपा उपाध्यक्ष गाैतम र अध्यक्ष प्रचण्डबीच भेटवार्ता

काठमाडाैं । सत्तारूढ नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपाध्यक्ष वामदेव गाैतमबीच भेटवार्ता भएकाे छ । उपाध्यक्ष गाैतम आज (शुक्रबार) बिहान ९ बजे छलफलका लागि प्रचण्ड निवास खुमलटार पुगेका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते संसद विघटन गरेपछि अहिले नेकपा दुई समूहमा विभाजन भएको छ । नेपाल–दाहाल समूहले आफू आधिकारिक नेकपा भएको दाबी गरिरहेका छन् भने केपी ओली समूहले पनि यही दाबी गर्दै आएका छन् । नेता कार्यकर्तालाई विभिन्न प्रलोभन देखाएर आ–आफ्नो समूहमा तान्ने काम पनि तीव्र रुपमा भइरहेको छ ।
केही समयअघि वामदेव र गृहमन्त्री रामबहादुर थापा पार्टी विभाजनकाे कारक नबन्ने भन्दै तथस्थ बसेका थिए । पछिल्लाे केही दिनयता भने बादल ओली समूहका कार्यक्रममा व्यस्त छन् भने प्रचण्डकाे खुलमखुला विराेधमा उत्रिएका छन् । गाैतमकाे कित्ता भने अझै पनि प्रष्ट नभइरहेका बेला उनीहरू बिचकाे छलफल अर्थपूर्ण रूपमा हेरिएकाे छ ।
करिब आधा घण्टा चलेकाे छलफलमा समसामियक राजनीतिक गतिविधिका बारे छलफल भएकाे खुमलटार स्राेतकाे भनाइ छ । एकताकाे पक्षमा रहेकाे भन्दै आएका गौतम प्रम ओलीकाे असंवैधानिक कदमकाे विराेध गर्दै आइरहेका छन् । यद्यपी आफू कुन समूहकाे पक्षमा रहेकाे समेत उनले प्रष्ट पारिसकेका छैनन् । त्यसकारण पनि उनलाई ओली र प्रचण्ड–नेपाल दुवै समूहले उपाध्यक्षबाट हटाएका छैनन् ।








