मन्त्रिपरिषद् पुनर्गठनविरुद्ध परेकाे रिटमाथि सुनुवाइ स्थगित

काठमाडौँ । मन्त्रिपरिषद् विस्तारविरुद्ध सर्वाेच्च अदालतमा दायर भएकाे रिटमाथिकाे सुनुवाइ स्थगित भएकाे छ ।
प्रतिनिधि सभा विघटन गरि निर्वाचन घाेषणा गरेकाे सरकारले मन्त्रिपरिषद् विस्तार गर्न नमिल्ने दाबी सहित वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र लोकेन्द्र ओलीले सर्वाेच्चमा रिट दायर गरेका थिए ।
उनीहरूले दायर गरेकाे रिटमाथिकाे सुनुवाइ हेर्न नभ्याइएकाले स्थगित गरिएकाे अदालतले जनाएकाे छ । सर्वोच्चले न्यायाधीश ईश्वरप्रसाद खतिवडालाई एकल इजलासका लागि साे रिटमाथि सुनुवाइ तोकेको थियो ।
अधिवक्ताले दायर गरेकाे कामचलाउ सरकारले मन्त्रिपरिषदमा नयाँ नियुक्ति, हेरफेर र कार्यविभाजन गर्न नसकिने उल्लेख थियाे । अधिवक्ता त्रिपाठीले गएको पुस १० गते प्रधानमन्त्रीको सिफारिसमा मन्त्रिपरिषदमा गरिएको नयाँ नियुक्ति, हेरफेर र कार्यविभाजन बदर गर्न समेत माग समेत गरेका थिए ।
पार्टी फुटेको घोषणा नगरिए पनि प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि नेकपा दुई समूहमा विभाजन भएको छ । विभाजनपछि नेपाल-दाहाल पक्षले असंवैधानिक कदमको विरोध गर्दै ओलीविरुद्ध प्रदर्शन गरिरहेको छ ।








