प्रधानमन्त्रीले अदालत विघटनको प्रस्ताव राष्ट्रपति समक्ष लैजान सक्छन् : सुरेन्द्र पाण्डे

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका नेता सुरेन्द्र पाण्डेले अदालतले प्रतिनिधि सभा विघटनको पक्षमा फैसला गरे प्रधानमन्त्री केपी शर्मा ओलीले कुनैपनि बेला अदालत विघटन गर्न सक्ने धृष्टता गर्न सक्ने बताएका छन् ।
नेकपा निकट जनसांस्कृतिक महासंघले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता पाण्डेले प्रधानमन्त्री ओलीले कुनैपनि बेला अदालत विघटनको प्रस्ताव राष्ट्रपति समक्ष लैजान सक्ने बताए । संविधान विपरित काम गर्नेको पक्षमा अदालतले फैसला दिने हो भने प्रधानमन्त्री ओलीलाई अदालत समेत विघटन गर्न सक्ने अधिकार छ भनेर भन्नुपर्ने समेत उनले बताए ।
उनले भने, ‘यदि प्रधामन्त्रीले अदालत भंग गरिदिए भनेर राष्ट्रपतिलाई लगेर सहि गराएर अदालत भंग हुन्छ ? यदि अहिलेको यो संसद विघटनको कुरालाई अदालतले मान्यता दिने हो भने अदालतले के कुरा पर्खेर बसे हुन्छ भने अदालत भंग गर्ने कुरा पनि प्रधानन्त्री केपी ओलीलाई छ भनेर भन्नुपर्ने हुन्छ ।’
यस्तै नेता पाण्डेले प्रधानमन्त्री ओलीको पार्टीको केन्द्रीय सदस्य बढाउने कदमलाई माछा बजारको संज्ञा दिए । पार्टीमा रहेका केही नेताको समूहले केन्द्रीय कमिटीको संख्या बढाउन सक्ने अधिकार राख्न नसक्ने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले गठन गरेको केन्द्रीय कमिटीलाई माछा बजार भनेका हुन् ।








