संसद विघटनविरुद्ध कांग्रेस सडकमा

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको विरोधमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विराेध प्रदर्शन गरेकाे छ । साेमबार देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा कांग्रेसले प्रदर्शन गरेकाे हाे ।
पूर्वनिर्धारित कार्यक्रम अनुसार काठमाडौं क्षेत्र नम्बर १ मा पनि नेपाली कांग्रेस कार्यकर्ताले नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन सुरू गरिसकेका छन् । त्यहाँ निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित प्रकाशमान श्रेष्ठले सम्बाेधन गरेका छन् ।

यस्तै काठमाडौं क्षेत्र नम्बर २, काेटेश्वरमा पनि कांग्रेसकाे प्रदर्शन सुरू भएकाे छ । त्यहाँ कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सम्बाेधन गर्दैछन् । भक्तपुरको थिमीमा हुने सभालाई भने सभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने कार्यक्रम छ ।
शीर्ष नेताको सम्बोधन कहाँ ?
कांग्रेस सभापति शेरबहादुर देउवाले भक्तपुरमा हुने सभालाई सम्बोधन गर्ने भएका छन् । कार्यव्यस्तताका कारण गृहजिल्ला डडेल्धुरा नगएका देउवाले भक्तपुरमा सम्बोधन गर्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

वरिष्ठ नेता रामचन्द्र पौडेलले भने तनहुँस्थित आफ्नै निर्वाचन क्षेत्रमा सम्बोधन गर्ने कार्यक्रम छ । प्रवक्ता विश्वप्रकाश शर्माले कोटेश्वरमा र युवा नेता गगन थापाले नेपालगञ्जमा हुने सभालाई सम्बोधन गर्ने भएका छन् । अन्य नेताहरुले भने आ-आफ्नो निर्वाचन क्षेत्रमा सम्बोधन गर्ने कार्यक्रम रहेको कांग्रेसले जनाएको छ ।









