अर्को संकट निम्त्याउँदै कोरोनाको नयाँ प्रजाति

काठमाडौं । कोरोनाविरुद्धको भ्याक्सिन आएपछि सन्तोषको सास फेरिरहेको विश्व जगतमा फेरि अर्को संकट आएको छ । पहिलेको भन्दा कयौँ गुणा खतरनाक कोरोनाको नयाँ प्रजातिले विश्‍वमा नयाँ संकट ल्याइदिएको हो ।

बेलायतमा तीव्र गतिमा फैलिरहेको कोरोनाको नयाँ रुपले पूरै युरोपको अवस्था फेरि खलबलाइदिन थालेको छ । कयौँ युरोपेली मुलुकले बेलायतसँगको हवाई सम्पर्क बन्द गरिसकेका छन् । नागरिकको आवतजावतमा पनि कडाइ गरिएको छ । कडाइका बाबजुद पनि कोरोनाको नयाँ प्रजाति तीव्र गतिमा फैलिए रहेको छ ।

यो नयाँ प्रजाति क्यानडा र जापानसहित यूरोपका ७ देशमा पनि भेटिएको छ । सबैभन्दा पहिले बेलायतमा भेटिएको यो प्रजाति अब क्यानडा र जापानसहित यूरोपका विभिन्न देशमा पनि भेटिएको हो । स्पेन, स्वीडेन, स्वीट्जरल्याण्ड र फ्रान्सले बेलायतबाट फर्किएका आफ्ना नागरिकमा कोरोना भाइरसको नयाँ प्रजाति पुष्टि गरेको बीबीसीले जनाएको छ ।

यस्तै क्यानाडाको ओन्टारियोमा पनि केहीमा नयाँ प्रजातिको भाइरस पुष्टि भएको छ जसमा यसअघि कतै यात्रा गरेको वा संक्रमितको सम्पर्कमा नआएका पनि परेको छ ।

नेपालमा भित्रियो कि नयाँ भाइरस
बेलायतबाट नेपाल भित्रिएका २ सय ३५ जना नागरिक निगरानीमा परेका छन् । १४ जना क्वारेन्टाइनमा छन् । उनीहरूको स्वाब नमुना संकलन गरी नेपालमा नयाँ भाइरस प्रवेश भए-नभएको अध्ययन गरिने भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार बेलायतबाट सीधै र अन्य मुलुकबाट बेलायत ट्रान्जिट हुँदै आउने नागरिकलाई निगरानीमा राखिएको हो । स्वास्थ्य मन्त्रालयअन्तर्गत इन्सिडेन्ट कमान्ड सिस्टमको बैठकले बुधबार बसेको नयाँ भाइरसको स्वरूप नेपालमा भित्रिएको छ/छैन भन्नेबारे अध्ययन गर्ने निर्णय गरेको थियो ।

नयाँ भाइरस संक्रमण देखिएसँगै बेलायतबाट हुने उडान र यात्रु आगमनलाई नेपालमा प्रतिबन्ध लगाइएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले गत बुधबार रातिदेखि लागू हुने गरी बेलायत र बेलायत ट्रान्जिट भएर आउने यात्रुलाई नल्याउन विभिन्न हवाई सेवालाई सर्कुलर गरेको थियो । त्यसअघि नै बेलायतबाट नेपाल भित्रिएकामध्ये केही व्यक्तिको स्वाब संकलन गरी जिन सिक्वेन्सिङद्वारा आनुवंशिक संरचनाको अध्ययन गर्न लागिएको प्रवक्ता डा. गौतमको भनाई छ ।

प्रतिक्रिया