प्रचण्ड र माधवको नेकपा आधिकारिक : नेता पोखरेल

काठमाडाैं । कार्यक्रममा नेकपाका नेता तथा सांसद कृष्णभक्त पोखरेलले प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार नै नराखी संविधान बनाइएको सुनाउँदै अहिले संसद विघटन गर्नु गैरसंवैधानिक भएको जिकिर गरेका छन् । उनले प्रधानमन्त्री ओलीले ल्याएको संसद विघटन प्रस्ताव अनुसार संसद विघटन हुनै नसक्ने बताए ।

बुधबार राजधानीमा आयोजित एक साक्षात्कार कार्यक्रममा उनले भने,‘आशा गरौँ सर्वाेच्च अदालतले संसद विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमलाई बदर गर्ने छ, प्रचण्ड र माधवको नेकपा आधिकारिक हो जस्तो लाग्छ मलाई ।’ कुनै पनि अर्थमा संसद विघटनको प्रावधान संविधानमा नभएको उनको जिकिर छ । उनले प्रधानमन्त्री ओलीले आफ्नो पार्टीसँग छलफल नै नगरी संसद विघटन गरेको भन्दै दुःखेसो पोखे ।

आफू वर्तमान संविधानको मस्यौदाकारमध्ये एक भएको सुनाउँदै पोखरेलले संसदीय अस्थिरतालाई मध्यनजर गर्दै संविधानमा प्रधानमन्त्रीलाई संसद विघटनको अधिकारको व्यवस्था संविधानमा नराखेको पनि सुनाए ।

उनले ओली पक्षधरले बोलाएको केन्द्रीय कमिटी बैठक वैधानिक नभएको जिकिर गरे । दाहाल नेपालले बोलाएको केन्द्रीय कमिटी बैठकमा तीन सय १५ जना सदस्यहरु उपस्थिति भएकोले यो नै आधिकारिक पार्टी र निर्णय भएको उनको भनाई छ । उनले को सँग बहुमत छ भन्ने कुरा निर्वाचन आयोगले निक्र्यौल गर्न सक्ने जिकिर गरे ।

प्रतिक्रिया