लोकतन्त्रमा बहुमतको कदर हुन्छ, त्यसैले हामी आधिकारिक हौँ : ओनसारी घर्ती

काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षकाे केन्द्रीय समिति बैठकमा सहभागी पूर्व सभामुख एवम् नेकपा नेतृ ओनसारी घर्तीले लाेकतन्त्रमा बहुमतकाे कदर हुने भन्दै आफ्नो पक्ष (दाहाल-नेपाल पक्ष) आधिकारिक रहेकाे बताएकी छिन् ।
केन्द्रीय समिति बैठक चलिरहेका बेला सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै नेतृ घर्तीले यस्ताे बताएकी हुन् । उनले भनिन्, ‘लाेकतन्त्रमा बहुमतकाे कदर हुन्छ । बहुमत यता छाैँ । त्यसैले हामी आधिकारिक हाैँ । यस सम्बन्धमा छिट्टै निर्णय हुन्छ ।’
यस्तै ‘प्रधानमन्त्री ओलीलाई अनुशासनको कारवाही हुन्छ ?’ भन्ने प्रश्नमा उनले यता नेपाल-दाहाल पक्षमा बहुमत भएका कारण केन्द्रीय समितिमा यसबारे निर्णय भएमा कारवाही हुने बताइन् ।
संसद विघटनपछि दुई समूहमा विभाजन भएका ओली पक्ष र नेपाल-दाहाल पक्षले आ–आफ्नो समूह आधिकारिक भएको दाबी गर्दै आएका छन् । संसद विघटन गर्ने ओलीकाे निर्णपछि अहिले विभिन्न ठाउँमा ओलीविरुद्ध प्रदर्शनहरु भइरहेका छन् ।








