ओलीले बोलाएको केन्द्रीय कमिटी बैठकमा पनि गएनन् गौतम र थापा

काठमाडौँ । प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारमा बोलाएको केन्द्रीय कमिटीको बैठकमा नेकपाका उपाध्यक्ष वामदेव गाैतम र सचिवालय सदस्य एवम् गृहमन्त्री रामबहादुर थापा बादल सहभागी नभएकाे पाइएकाे छ।
प्रम ओलीले मंगलबार डाकेकाे बैठकमा समेत उपस्थित नभएपछि उनीहरू कुन समूहकाे पक्षमा छन् भन्ने कुरा अझै खुलेकाे छैन । पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपालले डाकेका भेला तथा बैठकहरूमा समेत उनीहरूकाे उपस्थिति नरहँदा अहिलेसम्म उनीहरू तटस्थ बसेकाे देखिन्छ ।
उपाध्यक्ष गौतम दुवै तर्फका बैठकमा सहभागी भएर आफू पार्टी फुटको साक्षी नबस्ने घोषणा गरिसकेका छन् भने मन्त्री थापाले दुवै अध्यक्षसँग छलफल गरेपछि मात्रै कता खुल्ने भन्ने निर्णय गर्ने बताएका छन् ।
ओलीले बोलाएको कैन्द्रीय कमिटी बैठक बालुवाटारमा जारी छ । बैठकमा पूर्वमाओवादी समूहका नेता टोपबहादुर रायमाझी र मणि थापा भने सहभागी छन् । उक्त बैठकमा प्रम ओलीले ११९९ जनाको केन्द्रीय महाधिवेशन आयोजक कमिटी घोषणा गरेका छन् । नेकपामा अहिले ४४६ जनाको केन्द्रीय कमिटी रहेकाे अवस्थामा त्यसमा तत्काल ५५६ जना थप गर्ने तथा बाँकी १९७ समेत थप गर्न सक्नेगरी ओलीले केन्द्रीय कमिटी घोषणा गरेका हुन् ।








